बिर्तामोड । जिल्ला अनुगमन समिति झापाले बिर्तामोडमा रहेका दुईवटा म्यानपावरमा छापा मारी तालाबन्धी गरेको छ ।
अनुमतिपत्र नलिइ सञ्चालन भएका तथा स्थानीय तहमा सुचिकृत नभएका म्यानपावरमाथि अनुगमन गरि तालाबन्धी गरिएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, श्रम कार्यालय, स्थानीय तह, सुरक्षित बैदेशिक रोजगारी (सामी) परियोजना समेतको सक्रियतामा अनुगमन हुँदा बिर्तामोडमा रहेको कोशी र एमडी म्यानपावरले अनुमतिबिनै कार्यालय सञ्चालन गरेको पाइएपछि तालाबन्धी गरिएको हो ।
अबैधानिक रुपमा सञ्चालित म्यानपावरलाई कारवाहीका लागि सिफारीस गरिने जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले बताए । अनुगमन आएर दुई म्यानपावरमा तालाबन्धी गरेपछि अन्य म्यानपावरले पनि सटर बन्द गरेका थिए ।
म्यानपावरको शाखा सञ्चालन गर्नका लागि बैदेशिक रोजगार बिभागले तोकेको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यसपछि स्थानीय तहमा सुचिकृत भएर म्यानपावरको शाखा सञ्चालन गर्न पाइनेछ । अनुगमन समितिले कानुनले तोकेको प्रक्रिया पुरा नगरी सञ्चालन भएका म्यानपावरमा तालाबन्धी गर्न शुरु गरेको हो । अनुगमन समितिले जिल्लामा सञ्चालित म्यानपावरका शाखा र एजेण्टको बिवरण ७ दिन भित्रमा जिल्ला समन्वय समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।समितिले ताला लगाएका दुइवटा म्यापावरको कार्यालय हटाएर नगरपालिकामा जानकारी गराउन पनि ध्यानाकर्षण गराएको छ ।
यसैगरी म्यानपावरको बैधानिकता हेरी सुचिकृत गराउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको छ । समितिले नियमित अनुगमन गरेर बैदेशिक रोजगारीलाई ब्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ ।
अनुगमन समितिमा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दहाल, श्रम कार्यालय मेचीका प्रमुख अरविन्द कुमार कर्ण, बिर्तामोडका मेयर ध्रुबकुमार शिवाकोटी, भद्रपुरका मेयर जिवन श्रेष्ठ, प्रहरी प्रवक्ता जितेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
बिर्तामोडमा लगभग ६० वटा म्यानपावर सञ्चालित रहेका छन् ।