बिर्तामोड । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशकको बा२झ ३१२६ नम्बरको सेतो रंगको स्कार्पियो गाडीको दुरुपयोग भएको छ ।

महाशाखाका निर्देशक विकास लामिछानेकी पत्नी पूष्पा लामिछानेले काठमाण्डौंदेखि झापाको अर्जुनधारामा आज चिना हेराउन आउने क्रममा सो गाडीको दुरुपयोग गरेको हो । उनी परिवारसहित अर्जुनधारा–७ स्थित ज्योतिष मातृकाप्रसाद घिमिरेकोमा चिना हेराउन आएको उनले बताइन् ।

ज्योतिष घिमिरेको डेरा नजिक सडकमा पार्किङ गरि राखिएको गाडीको तस्बिर खिचेसँगै गाडी चालकले उक्त गाडी भने त्यहाँबाट भगाएका थिए । डेरामा चिना हेराईरहेका निर्देशक पत्नी लामिछाने भने हिँड्दै गाडी भगाएको स्थानतर्फ गएको प्रत्यक्षदर्शीले बताए ।

यस विषयमा विभागका सूचना अधिकारी टेकराज अर्यालसँग फोन सम्पर्क गर्दा उनले सरकारी गाडी निजी प्रयोजनमा प्रयोग हुनु गलत भएको बताए । गाडी कुन प्रयोजनले त्यहाँ पुगेको विषयमा जानकारी लिन महाशाखाका निर्देशक लामिछानेलाई आफूले फोन सम्पर्क गर्दा फोन नउठेको उनले जवाफ दिए ।