पानवारी । धरानका विभिन्न खाद्यान्न पसल लगायत ठूला डिपार्टमेन्ट स्टोरमा कुहिएको तथा म्याद गुज्रिएको खाद्यान्न भेटिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा रहेको टोलीले धरानको बजार अनुगमन गर्दा कुहिएका तथा म्याद गुज्रिएका खाद्यान्न फला परेको हो । विभागका शाखा अधिकृतद्वय रमेशकाजी श्रेष्ठ र रामकृष्ण श्रेष्ठको नेतृत्वमा रहेको अनुगमन टोलीले बिहीबार धरानका विभिन्न स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा नरिवल तथा फलफुल कुहिएको, गत माघमा उत्पादन गरेको तिलको लड्डु समेत सडिएको भेटिएको विभागका अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । भाटभटेनी सुपर मार्केटकी शाखा प्रमुख सुरेखा मिश्रले सस्तो मूल्यमा फलफुल विक्री गरीएको र कुहिएको भाग काटेर फालेर पनि उपभोक्तालाई मूल्यमा घाटा नलाग्ने गैर जिम्मेवारी जवाफ दिएकी थिइन् । भाटभटेनीकी प्रमुख मिश्रबाट त्यस्तो जवाफ आउदा समेत कुनै कारवाही नगरी सचेत मात्र गराइएको थियो ।
धरान–१ मा रहेको मोहन किराना पसलमा सन् २०१६ मा म्याद गुज्रि सकेको जय सन्तोषी माँ नामक कम्पनीको ३१ पकेट पापड भेटेको थियो ।
त्यस्तै धरान–१ मा रहेको चामलको थोक विक्रेता भवानी श्री टेडर्समा २० किलोको चामलको बोरामा ५ सयदेखि ७ सय ग्रामसम्म कम तौल भेटिएको विभागका अधिकृत रमेशकाजी श्रेष्ठले बताएका छन् । विभागको नेतृत्वमा रहेको अनुगमन टोलीमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सदस्य तिर्थ महर्जन, सुनसरी अध्यक्ष नारायण राई, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरानका प्रतिनिधी लगायतको टोली रहेको थियो ।
अनुगमन टोलीले धरान–१३ मा रहेको कृषि उपज बजारबाट अनुगमन सुरु गरी धरान–१ मा रहेका विभिन्न किराना पसल, चामल गोदाम, भाटभटेनी सुपर मार्केट, बराह डिपार्टमेन्ट स्टोर, सेल्सवेरी डिपार्टमेन्ट स्टोर र गोर्खा डिपार्टमेन्ट स्टोर गरी १७ वटा पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कृषि उपज बजार स्थलमा अधिकांशले पसल दर्ता नगरेको, पसलमा मूल्य सूचि नराखेको, पसलको बोर्ड नराखेको भेटीएको भन्दै विभागका अधिकृत रामकृष्ण श्रेष्ठले उनीहरुलाई सचेत गराइ एक साताभित्र इलाका प्रशासन कार्यालय धरानमा स्पष्टिकरण बुझाउन भनिएको बताए ।
उनका अनुसार धरानका अधिकांश पसलमा लेवलीङ बिनाका खाद्यान्न विक्री गर्न राखिएको र ठूला पसलले समेत दर्ता तथा नविकरण नगरेको पाइएको छ । श्रेष्ठका अनुसार बिहीबार बजार अनुगमन गर्दा २० हजार बराबरको म्याद गुज्रिएको खाद्यान्न समेत नष्ट गरिएको छ ।