पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको ‘ज्येष्ठ नागरिकसंग नगरपालिका’ कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका ज्येष्ठहरुको घर घरमा गएर निःशुल्क चेकजाँच गर्ने क्रममा भूटानी शरणार्थी ज्येष्ठहरुको पनि चेकजाँच गरिएको छ ।

वडा नम्बर १० को भूटानी शरणार्थी शिविरमा रहेका ८० वर्ष माथिका २५ जना ज्येष्ठको पहिलो पटक चेकजाँच गरिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । नगर प्रमुख दिलीपकुमार राईको सहभागितामा स्वाथ्यकर्मीहरुले शिविरमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् ।

यस क्रममा नगर प्रमुख राईले ज्येष्ठहरुको सन्च विसन्चका बारेमा सोधपुछ गरे । नगर प्रमुखसंगको भेटमा ज्येष्ठहरुले शरणार्थी भएर बसेकाहरुको पनि घरघरमै आएर चेकजाँच गर्दै स्वास्थ्य सल्लाह दिने नगरपालिकाको कामप्रति उनीहरुले खुसी व्यक्त गरेको स्वास्थ्य संयोजक आचार्यले उल्लेख गरे ।

नगरमा मासिक रुपमा हुने यसप्रकारको चेकजाँच कार्यक्रम दोस्रो चरणको सम्पन्न भएको छ । गत वैशाखबाट यो कार्यक्रम अघि बढेको हो । ७० वर्षमाथिकाको उपचारमा १ नम्वर प्रदेशका अस्पतालमा जाँदा एकतर्फी एम्वुलेन्स भाडा नगरपालिकाले व्यहोरिदिने कार्यक्रमले पनि उनीहरु खुसी देखिएका छन् ।

गत वैशाखसम्मको तथ्यांक अनुसार नगरमा ८० वर्षमाथिका ज्येष्ठको संख्या ९ सय २७ रहेको छ । प्रत्येक महिना घर घरमा चेकजाँच र स्वास्थ्य परापर्शका लागि सरिता कटुवाल, ममता माझी, एल्डिना गुरुङ र रविना तामाङ खटिएका छन् ।