इनरुवा । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन गरिएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार नदीमा पछिल्लो बहाव १ लाख ७४ हजार ८ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । बहाव बढेसँगै ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।
असारको दोस्रो साता १ लाख ६० हजारको हाराहारीमा पुगेको बहाव त्यस यता केहि समय भने सामान्य अवस्थामा रहेको थियो ।
पुर्वि पहाडी सहितका भेगमा पुनः वर्षा हुन थालेसँगैै हिजो मध्यान्हबाट कोशीको बहावमा वृद्धि हुन थालेको हो । नदीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेकाले एक साइडमा रातो बत्ति समेत बालिएको छ । कोशीमा एउटा रातो बत्ति बालिनुलाई पानीको सतह बढेको प्रारम्भिक सूचक मान्ने गरिन्छ । नदीमा बालुवा थुप्रिएको हुनाले हाल ७ लाख क्युसेक बहाव धान्ने अवस्थामा रहेको कोशीमा ४ लाखको हाराहारीमा बढाव पुगेको अवस्थालाई खतरा मानिन्छ ।
नदीमा बहाव घटबढको क्रम जारी रहेपनि सबै स्परहरु सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सुनसरी प्रशासनले स्पष्ट पारेको छ ।