बिर्तामोड । सीताराम कट्टेल र कुञ्जना घिमिरेले केही ब्यक्तिको आलोचनाका कारण सामाजिक काम गर्न आफुहरु कतिपनि बिचलित नभएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा भएको आलोचनाले झन् सजग भएर काम गर्न प्रेरणा मिलेको धारणा राखेका छन् । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाको सम्मान तथा पुरस्कार थाप्न गृह जिल्ला झापा आएका कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आलोचनाका कारण सामाजिक काम गर्न आफूहरु कति पनि विचलित नभएको बताएका छन् । प्रतिष्ठानको एक लाख नगद पुरस्कारसहितको सम्मान थापेपछि कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले आलोचनाकै कारण सजग भएर काम गर्ने प्रेरणा मिलेको बताए । उनले भने, ‘आलोचना भए पनि हामी त्यसलाई सकारात्मक रुपमा लिएर सामाजिक काम गर्न हिँडेका छौं । हामी काम गर्नबाट बिचलित हुने छैनौं ।’ उनले नेपालीहरुको साथ र माया पाइरहे काम गर्न कुनै गाह्रो नहुने बताए । धुर्मुसले भने, ‘हामी देश बनाउन भनेर हिँडेका मान्छे पछि हट्दैनौं ।’ कलाकार कुञ्जना घिमिरेले आलोचना भयो भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको बताइन् । आफू सम्मानबाट निकै उत्साहित बनेको बताउँदै उनले भनिन, ‘काम गर्नेमाथि मात्र आलोचना हुन्छ । कामै नगरि बस्नेलाई कस्ले के भन्छ र !’ आफूले सानैदेखि आलोचना खेप्दै आएको हुनाले अहिलेको सामाजिक सञ्जालमा धुर्मुस सुन्तली फाउन्डेसनमाथि लागेको आरोपले केही नविगार्ने उनको भनाइ थियो । २०५ औँ भानु जयन्तीको अवसरमा शुक्रबार काँकरभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत उनीहरुलाई सम्मान गरिएको हो । पत्रकार राजु अधिकारीलाई रु २५ हजारको धनमाया देवकुमारी पत्रकारिता पुरस्कार, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई रु २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ । दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए । उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले दोसला, सम्मान पत्र र नगदले सम्मान गरेका थिए ।