भद्रपुर । पूर्वी नाका भद्रपुरबाट तस्करी मौलाएको समाचार सार्वजानिक पछि कारोबारीहरु ले अन्य जिल्लाबाट तस्करी गर्ने गरेको पाइएको छ । पछिल्लो समय भद्रपुरमा प्रहरीको सक्रियता बढेपछि अतालिएका कारोबारीले झापाको उत्तरी क्षेत्र इलामबाट तस्करी शुरु गरेको सार्वजानिक भएको छ । भन्सार छलेर अवैध रुपमा कारोबारीले ल्याउदै गरेको अन्दाजी तीनलाख ६२ हजार मूल्य बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेपछि सो क्षेत्रबाट तस्करी हुने गरेको पुष्टि भएको हो । इलामबाट विर्तामोड तर्फ गाडीमा ल्याउदै गरेको कपडा शुक्रबार दिउँसो २ बजे झापाको बुधबारेबाट सशस्त्र प्रहरी गस्ती टोली झापाले बरामद गरेपछि तस्करीको पर्दाफास भएको थियो । बरामद गरिएको सामानमा पर्दाको कपडा,साडी, कुर्ता सरुवाल लगायत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रेशम कुमार थाक्सूले जानकारी दिए । कपडालाई आवश्यक कार्वाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइने एसपी थाक्सूले जनाए । कपडा भद्रपुरका व्यापारीको भएको कारोबारीबाट बुझिएको छ । तस्करीको समाचार सार्वजानिक भइसकेपछि सिलगढीबाट खरिद गरिएका कपडा मेची भन्सार काकडभिट्टा नभइ अनकौ झन्झट गरेर भएपनि भद्रपुर छोटी भन्सारमा ल्याउन शुरु गरेका थिए । व्यापारी र कर्मचारीबिच पचास प्रतिशतमात्र भन्सार राजस्व बुझाउने आन्तरिक सहमती भएपछि सामानलाई भन्सार छिराउन शुरु गरेका थिए । सहमतीको बारेमा समाचार सार्वजानिक भएलगत्तै व्यापारीले थोरै परिमाणमा सामान काटेर बाँकी भन्सारको गोदाममानै राखेका छन् । भन्सारमा सहज परिस्थिती नबनेसम्म केही कारोबारीले इलामबाट कारोबारलाई निरन्तरता दिएको कारोबारीले नै बताएका छन् ।