तेह्रथुम । समयमा नै धरान पुग्नका लागि मेन्छ्यायेम गाउँपालिकाका ४ का राम प्रसाद भट्टराई बिहानै घरबाट निस्के । दुई घण्टाको पैदल हिडेर उनी म्याङलुङको जिरिखिम्तीबाट विहान ७ बजे बस चढे । तर, दिउसो १ बज्दा पनि उनी बसन्तपुर पुग्न सकेनन् । जिरिखिम्तीबाट वसन्तपुर सम्मको २० किलोमिटरबाटो पार गर्न उनलाई ६ घण्टा लाग्यो । बर्खाको समयमा सडक विग्रदा यात्रु समयमा पुग्न सक्दैनन् । ठाउँ–ठाउँमा ओर्लिएर गाडी ठेल्नु पर्दछ । गाडी ठेल्दा–ठेल्दा यात्रु हैरान मात्र हुदैनन्, लुगा पनि हिलाम्मे हुन्छन् । गन्तव्यमा पुग्न खेतमा रोपाई गरेर आएझैं हुने धरानबाट म्याङलुङ आएकी मैया अधिकारीले बताईन् । कतिपय स्थानमा पहिरोले सडक विगारेको छ भने कतिपय स्थानमा हिलाम्मे भएर गाडी भासिन्छ । त्यो सडकमा सामान ढुवानी गर्ने ट्याक्टरले मान्छे समेत हिड्न नसक्ने गरि बाटो विगारेको सुर्के निवासी यादव दाहालले बताए । ३० वर्ष अगाडी निर्माण शुरु गरि ४ वर्ष अगाडी पिच गरिएको त्यो सडकमा बर्खा लागेपछि गाडी कुदाउन साह्रै गाह्रो पर्ने वस चालक प्रेम लिम्वुले बताए । ‘दुई वर्ष सम्म त पिच थियो, यो बाटो तर अहिले त्यो पिच कता गयो थाहा भएन ।’ चालक लिम्वुले भने ।

बर्खाका कारण सडकमा पानी जम्ने, खेतका गह्रा जस्ता हिलाम्मे हुने र खाल्डा खुल्डी पर्ने जस्ता समस्याले बर्खाको समयमा यातायातका साधन गुड्न सक्दैनन् । सडक मर्मतको लागि बर्सेनी लाखौ रकम विनियोजन भए पनि ठेकेदार र सम्वन्धि कार्यालयको मिलेमतोमा गुणस्तरीय काम नगरेपछि सडकको यो दुर्सशा भएको स्थानीयको भनाई छ । पूर्वका झापा, मोरङ्ग, सुनसरी र धनकुटासँग जिल्लाको सदरमुकामलाई जोड्ने तथा जिल्लाका विभिन्न गाउँहरुलाई सदरमुकामसँग जोड्ने यो कालोपत्रे सडक भत्किएपछि गाडी चलाउन समस्या भएको हो । यो सडक खण्डको चित्रेदेखि बसन्तपुर बजार क्षेत्रमा समेत सडकमा कालोपत्रे उप्किएर लथालिङ्ग बनेको छ । बसन्तपुर बजार क्षेत्रकै सडक हिलाम्मे भएर आवतजावतमा समस्या भइरहेको छ । अवको दुई–चार दिन सम्म पनि सडक मर्मतको लागि भरपर्दो तरिकाले काम गरिएन भने बसन्तपुर देखि म्याङलुङ सम्म बस सञ्चालन गर्न नसकिने बस चाहकहरु बताउछन् । विगतमा हरेक वर्ष सडक डिभिजन कार्यालय धनकुटाले मर्मत सम्भारको काम गर्दै आएको यो सडक निर्माणाधीन मध्यपहाडी लोकमार्गले जिम्मा लिएपछि मर्मतको काममा समेत ढिलाइ भइरहेको छ ।