विराटनगर/ मोरङको रङ्गेली नगरपालिका जनप्रतिनिधी र कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तरुण दल मोरङका उपाध्यक्ष भरत मण्डलको रिहाइको माग राख्दै काँग्रेसको चार भातृ संगठनले आन्दोलन गर्ने चेतवनी दिएका छन् । पक्राउ परेका मण्डललाई स–सम्मान रिहाइ नगरे शनिबारदेखी चरणबद्ध आन्दोलनमा उत्रिने विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरि यस्तो चेतवनी दिएका हुन् ।
काँग्रेसको भातृ संगठन तरुण दल, नेविसंघ, महिला संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि बिना कारण पक्राउ परेका मण्डललाई रिहाइको माग राख्दै विराटनगरमा शनिबार मसाल जुलुस निकाल्ने बताए । पत्रकार सम्मेलन प्रदेश सांसद विन्ध्या कार्की, शान्ता पौडेलले बिना कुनै कारण एक जना निर्दोषलाई फसाएको भन्दै तत्काल रिहाइ नभए प्रदेश सभा बैठक अवरोध पर्ने चेतवनी दिए । तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापाले जनप्रतिनिधको योजनामा मण्डललाई फसाएको हुनाले ससम्मान रिहाइ नभए कडा आन्दोलनमा उत्रिने बताए ।
मण्डलले एक साता अघि रंगेली नगरपालिकाको आर्थिक फाँटमा प्रवेश गरेर लेखापाल कृपाराज जोशी र जनप्रतिनधीहरुलाई दुर्व्यबहार गरेका थिए । दिउँसै मादक पदार्थ सेवन गरेर कर्मचारी र जनप्रतिनधीहरुलाई दुर्व्यबहार गर्दै हातपात गरेको आरोपमा रंगेली प्रहरीले पक्राउ गरि सार्वजानिक मुद्दा दर्ता गरेको थियो । मण्डल अहिले रंगेली प्रहरीको हिरासतमा छन् ।