भद्रपुर । भद्रपुर नगरपालिकाको ७ नम्बर वडा खुला दिसामुक्त वडाका रूपमा घोषणा गरिएको छ ।
नगरको ५ औं खुला दिसामुक्त वडाका रूपमा सोमबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले स्वीकृति प्रदान गरेपश्चात पूर्ण सरसफाई युक्त वडा घोषित भएको हो ।
वडा भित्र एक हजार ७ सय ३१ घरधुरी रहेका छन् । जस मध्ये यसैवर्ष ४ सय १६ घरधुरीमा चर्पी निर्माण सम्पन्न गरिएपछि जिल्ला सरसफई समन्वय समितिले खुला दिसामुक्त हुन स्वीकृति प्रदान गरेको थियो ।
वडा अध्यक्ष विनोदकुमार पोखरेलको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा वडालाई सरसफइ युक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने १२ वटा टोल बिकास संस्थाहरू, बिभिन्न व्यक्ति, वडामा कार्यरत कर्मचारी, सामाजिक सघं संस्था लगायतलाई कदर पत्र सहित सम्मान समेत गरिएको थियो ।
वडाले नगरपालिकाको सरसफाई अभियान सफल बनाउन भूमिका खेलेको ठहर गर्दै नगर कार्यपालिकाले नगद एक लाख पुरस्कार रकम प्रदान गरेको थियो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडाध्यक्ष विनोदकुमार पोखरेललाई एक लाख रूपैयाको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरी आफ्नै लगानीमा शौचालय बनाएको भन्दै विपन्न परिवारका उत्तमलाल गणेश र अल्का ठकुरीलाई नगद एक हजारले सम्मानित गरिएको थियो । कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीले निशुल्क रूपमा सरसफाइका सामग्री हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा टोल बिकास संस्थाको तर्फबाट उत्तमकुमार सुबेदी, चन्द्रगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी, खानेपानी डिभिजनका रुद्रबहादुर न्यौपानेले मन्तव्य राख्दै वडाको सरसफाइमा स्थानीयको भूमिका महत्वपूर्ण रहको धारणा राखेका थिए ।