बेलबारी । मोरङको केराबारी ३ निवासी कमल श्रेष्ठको घरमा आईतवार राती सुनचाँदीका गरगहना सहित नगद चोरी भएको छ । घरमा सुतिरहेको अवस्थामा दराज फोडेर ६ तोला सुनका गरगहना , २५ तोला चाँदी, ८६ हजार नगद र दुईथान मोवाईल चोरी भएको पीडित श्रेष्ठले बताए । चारजनाका परिवार रहेका श्रेष्ठ परिवार विश्वकप हेरेर सुतेको समयमा चोरी भएको श्रेष्ठले बताएका छन् । घटनाको बारेमा सोमवार विहान इलाका प्रहरी कार्यालय केराबारीलाई श्रेष्ठले जानकारी गराएका छन् । घरमा चुकुल लगाएर सुतेका श्रेष्ठको छतको ढोकाबाट चोर घरभित्र छिरेको प्रहरीले अनुमान गरिएको छ । श्रेष्ठको मोवाईल समेत चोरी भएको हुँदा मोवाईल नम्वरबाट खोजी कार्य थालनी गरिएको केराबारी प्रहरीका प्रमुख दिपक यादवले बताए । उनको छतमा चढेको ठाउँमा हिलो लागेको , घरको ढोकाको आग्लो बारीमा फालिएको अवस्था फेला परेको थियो । साथै नगद रकम संगै रहेको ३३ हजार ५ सय ५० रुपैयाको चेक भने ढोकाको छेउमा फालेका अवस्थामा भेटिएको थियो । श्रेष्ठ केराबारीका व्यवसायी हुन् । उनी केराबारी बजारमा रक्सीको डिलरको व्यवसाय गर्दै आएका छन् ।