तेह्रथुम । जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष २०७४÷०७५ को लागि लिएको लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको जनाएको छ । अदालतले आर्थिक वर्ष २०७३÷०७४ बाट जिम्मेवारी सरि आएको ४७ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १ सय ६६ थान गरि जम्मा २ सय १३ थान मुद्दामा १ सय ६४ थान मुद्दा फर्छौट गरेको छ । फर्छौट हुने लक्ष्य ७५ प्रतिशत लिएकोमा लक्ष्य भन्दा २ प्रतिशत वढी भई ७७ प्रतिशत मुद्दा फर्छौट भएको जिल्ला न्यायाधिस नारायण प्रसाद पराजुलीले बताए । अव ४९ थान मुद्दा बाँकी रहेका अदालतले जनाएको छ । यस आर्थिक वर्षमा १८ महिना देखि २ वर्ष भित्रका मुद्दा सुन्यमा झारिएको छ । यसै गरि अदालतमा २ वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको अदालतले जनाएको छ । अदालतमा १ वर्ष देखि १८ महिना भित्रका मुद्दा लगाउका कारण ३ थान रहेको न्यायाधिस पराजुलीले बताए । फौसला कार्यान्वयन तर्फ २५ थान रहने अनुमान गरिएकोमा २३ थान बढी दर्ता हुन गई ४८ थान पुगेकोमा ३९ थान फर्छाैट भई ९ थान बाँकी रहेको सुचना अधिकारी गोपाल खनालले बताए । अदालतमा ३ सय ९६ वर्ष ४ महिना २७ दिन कैदको लगत जिम्मेवारी सरेको र यस वर्षको १ सय २२ वर्ष ३ महिना ५ दिन गरि जम्मा लगत ५ सय १८ वर्ष ८ महिना २ दिन रहेकोमा १ सय ४६ वर्ष ११ महिना ५ दिन फर्छाैट भएको छ । अव जिल्ला अदालतले ३ सय ७१ वर्ष ८ महिना २७ दिन कैद असुल गर्न बाँकी रहेको सुचना अधिकारी खनालले बताए । अदालतले गत वर्षको जिम्मेवारी सरेको जरिवाना ३७ लाख ५५ हजार १ सय ४८ रुपैया र यस वर्षको ८ करोड ८३ लाख ४३ हजार ६ सय ९४ रुपैया गरि जम्मा ९ करोड २० लाख ९८ हजार ८ सय ४२ रुपैया लगत रहेकोमा ७३ लाख २७ हजार ४ सय ७१ रुपैया असुल गरेको छ । अदालतले २३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ३ थान मिलापत्र गराउन सफल भएको छ । अदालतको मेलमिलाप केन्द्रमा ११ जना मेलमिलापकर्ता रहेका छन् ।