जिरोपोइन्ट । श्रावण महिना लाग्ने वितिकै धेरैजसो महिलाहरु हरियो चुरा र मेहंन्दी लगाउन छुटाउदैनन् । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिने महिलाहरु पनि श्रावण महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी लगाउन चासो देखाउने गरेको पाइन्छ । श्रावण महिना सुरु हुन अघिदेखि नै महिला दिदिबहिनीहरू सामाजिक सञ्जाल फेसबुक र युट्यूबको माध्यमबाट मेहन्दिको डिजाइन छान्न सुरू हुन्छन् । प्रविधिको समय भएको कारणले विभिन्न सामाजिक सञ्जाल विशेष गरी फेसबुक र युट्यूबमा हेरेर यस्तै डिजाइनको लगाइदिनुस भन्नेहरू धेरै हुने गरेको निसुङ्मा ब्यूटि पार्लरकी मेहंन्दी डिजाइनर सपना लिम्बु बताउछिन् ।
लिम्बुका अनुसार विशेष गरी अहिले फेसबुकमा सबैले फोटो लगाउने भएकोले साथिहरूले कस्तो मेहंन्दी लगाएका छन् त्यस्तै लगाइमाग्नेहरू धेरै हुन्छन् । उनि भन्छिन् “पहिलाको समयमा तिउरे(एक प्रकारको झार) कुटेर हातमा लगाएर रातभरी राखेर मेहंन्दी लगाउने गरीन्थ्यो । अहिले सबै रेडिमेट आउछ । पहिलाको तुलनामा अहिले समाजिक सञ्जालप्रति निकै लोकप्रियता बढेकोले पनि मेहंन्दी लगाउनेको सङ्ख्या निकै बढेको छ ।” धेरैजसो महिलाहरुलाई भने आफुले लगाएको मेहंन्दीको महत्वका विषयमा समेत जानकारी हुदैन । आस्था राई भन्छिन्,“खोइ खासमा के महत्व छ, त्यति राम्ररी त थाहा छैन, सबैले श्रिमानको आयु बढ्छ भन्छन्, साउनमा सबैले लगाउने भएकोले आफुले पनि लगाइन्छ ।” धरानको भानुचोदेखि कोलेनी जाने ट्याम्पु स्टेन छेउमा वर्षभरी नै मेहंन्दी लगाउनका लागी राजकुमार महतो बस्ने गरेका छन् । उनका अनुसार श्रावन महिना सुरू भएपछि भ्याइनभ्याइ हुन्छ, धेरैजसोलाई त मेहंन्दीको डिजाइन पनि थाहा हुदैन, उनीहरू मेहन्दिको किताब वा युट्युबमा हेरेर त्यस्तै लगाइदिनु भनि आग्रह गर्छन् । अधिकाशंले डिजाइन थाहा नभएपनि फ्रेन्सी अरेबिक डिजाइन रोज्ने गरेका छन् । उनले फेब्रिक, फ्रेन्सी अरबिक, मेटालिक, मुम्बई मेहन्दी शैलीका अतिरिक्त मेहन्दी लगाउने गरेका छन् । समान्य मेहंन्दी लगाएको मात्र उनी एक सय पचासदेखि दुई सयसम्म लिन्छन् ।