धनकुटा । क्षेत्रिय सङ्ग्राहलय धनकुटाको नयाँ सङ्ग्राहलय भवन तथा ग्यालरीको उद्घाटन गरिएको छ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नवनिर्मित सङ्ग्राहलयको उद्घाटन गरे । २०३९ सालमै क्षेत्रीय सङ्ग्राहलयको रूपमा रहे पनि ०६२ साल देखि नयाँ भवन निर्माण कार्य थालनी गरिएको थियो । पाँचवर्ष अघि नै सम्पन्न भए पनि उद्घाटन आइतबार मात्रै गरिएको हो । सङ्ग्राहालयमा एक नम्बर प्रदेशमा रहेका विभिन्न जातजातिहरुको पहिचान झल्किने संस्कृतिहरु रहेका छन् ।
विभिन्न जातजातिहरुको भेषभूषा, साँस्कृतिक बाजागाजा, आदिमकालमा सुरक्षाको लागि प्रयोग गरिने हातहतियार, लगाइने गरगहना, खानपानमा प्रयोग गरिने भाँडाकुँडा, धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग हुने सामग्रीहरु राखिएका छन् । त्यस्तै कतिपय जातजातिहरुको जन्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कारमा प्रयोग गरिने सांस्कृतिक कार्यक्रममा प्रयोग गरिने सामग्रीहरु पनि सजाएर राखिएको छ । सङ्ग्रहालयमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल्स टुर अपरेटर व्यवसायीसँग समन्वय गरेर पर्यटकलाई अवलोकन गराएर सङ्ग्रहालयमार्फत धनकुटाको पर्यटन प्रवद्र्धन गर्न सकिने विभागका महानिर्देशक दाहालले बताए । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले सङ्ग्रहालयले आदिवासी जनजातिहरूको कला संस्कृति, इतिहास, जीवनशैली, भेषाभूषा, रहनसहन कस्तो थियो भन्नेबारे थाहापाउन र अवलोकन गर्न सजिलो हुने बताए । क्षेत्रीय सङ्ग्रहालय धनकुटाका प्रमुख चन्द्रप्रकाश अधिकारीको अध्यक्षतामा सञ्चालन सूचना अधिकारी प्रेम राईले गरेका थिए ।