धनकुटा/सामुदायिक विकास मञ्च नेपाल धनकुटाले दुई दिने भित्ते पत्रिका प्रकाशन तथा पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ ।
तालिममा भित्ते पत्रिका प्रकाशनका बारेमा जानकारी गराइएको थियो । त्यस्तै पुस्तकालय व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारेमा जानकारी प्रदान गरिएको मञ्चकी कार्यक्रम संयोजक सावित्रा राईले बताइन् । तालिममा विद्यालयस्तरका बाल क्लबका प्रतिनिधि तथा संरक्षक शिक्षकहरु सहभागी थिए । तालिम समापन आइतबार गरिएको हो । तालिममा पत्रकार नैन विश्वकर्मा, क्याम्पसका प्राध्यापक कृष्णगोविन्द अधिकारी र टिकाराम लिङ्खाले सहजीकरण गरे । पत्रकार विश्वकर्माले भित्ते पत्रिकाको परिचय र आवश्यक्ता, बाल भित्ते पत्रिकाको विधा, प्राथमिकता दिनु पर्ने पक्षहरुलगायतका विषयमा जानकारी गराए ।
त्यस्तै प्राध्यापक टिकाराम लिङ्खाले बाल अधिकार, बाल क्लबको काम, कर्तव्य र अधिकारको विषयमा बताएका थिए । तालिम समापनमा धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला बस्नेतले सानै उमेरदेखि नै बालबालिकाको चौतर्फी विकासमा ध्यान दिनु पर्ने बताइन् । धनकुटा–७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियाको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो ।