बिर्तामोड । इलामको माई खोलामा बरामद गरिएको सखुवाको चिरान काठ शसस्त्र प्रहरीले नियमबिपरीत गणमा राखेको खुलेको छ । बरामद काठ सम्बन्धित बन कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेमा शसस्त्र प्रहरीको पाडाजुँगी गणले कार्यालयमा लगेर लुकाएको हो । तस्करले माइखोलामा चाली बनाएर बगाएर ल्याउँदै गर्दा शनिवार राती शसस्त्र प्रहरीले लगभग ५० क्यु फिट काठ बरामद गरेको थियो । बरामद गरेको ५ चाली काठमध्ये एकचाली काठ गजुरमुखी इलाका बन कार्यालय सुखानीमा बुझाएर अरु शसस्त्र प्रहरी लगेको थियो । शसस्त्र प्रहरीको दानाबारी बेस क्याम्प प्रमुख डिल्लीराम चौधरीले आफुले ९ क्यु फिट काठ बरामद गरेर सुखानीमा बुझाएको बताए । उनले अरु काठको बारेमा आफुलाइ थाह नभएको जानकारी दिए । बाँकी काठ असई अइन्द्र नेम्वाङको टोलीले झापा दमकको पाथिभरा गण ल्याएपछि हराएको भन्दै स्रोतले खोजी शुरु गरेको थियो । शसस्त्र प्रहरीले यस क्षेत्रमा अबैधानिक काठ ओसार पसारमा सक्रिय तस्करसँग रकम असुल गर्ने गरेको स्रोतको दावी छ । पक्राउ परेको काठ तीनदिन सम्म हराएपछि खोजी गर्दा शसस्त्र प्रहरीको पाडाजुँगी गणमा भेटिएको हो । एसपी बिदुर खँड्काले गणमा लगभग ४० क्युफिट काठ राखिएको पुष्टी गरे । उनले इलाका बन कार्यालय केरखामा बुधबार त्यो काठ बुझाउने बताए । तर, यो समाचारका लागि सोधखोज गर्दासम्म शसस्त्र प्रहरी यस बिषयलाई गुपचुप बनाएको थियो । बाढी आएको बेला तस्करले बर्षेनी माइखोलामा काठ तस्करी गर्दै आएका छन् ।