भद्रपुर/ झापाका एक अवकास प्राप्त कर्मचारीले बाँकी जीवन कृषि पेशामा लगाई माछा पालन व्यवसायबाट वार्षिक ७ लाख रुपैया आम्दानी गर्दै आएका छन् । भद्रपुर ७ का नविन कोइरालाले हल्दीबारी ४ वडाबारीमा एक विगाहामा निर्मित चारवटा पोखरीमा लगाइएको विभिन्न जातका माछाबाट मनग्गे आम्दानी गर्दै आएका हुन् ।
०७१ सालमा एकिकृत कृषि परियोजना अन्तर्गत नमस्ते कृषि फार्म दर्ता गराई ४२ लाखको लगानीमा व्यवसाय शुरु गरेका थिए । पोखरी निर्माण गरी चित्तलपेटी र कार्रप ७ प्रकारको पङ्गाशेष गरी सवा लाख माछाका भूरा लगाएका थिए । वार्षिक एक करोडको माछा बिक्री गर्ने उद्देश्यले शुरु गरेका उनले ०७२ सालको भूइचालोबाट पोखरीमा लगाइएका ट्रस्ट र डिल भत्किएर नोक्सान पुर्याएको थियो । भूरा माछा लगाएको ६ महिनामा १८ सय किलो माछा बिक्रीबाट ४ लाख रुपैया कमाएका थिए । आधा देखि साढे ६ किलो सम्मका माछा उत्पादन भएको उनले बताए । दैनिक ४० किलो दाना दिदै आएकोले दाना दिएको आधारमा किलो बढ्ने उनको बुझाइ थियो । ६ महिनाको फरकमा माछा निकाल्नु पर्ने उनको भनाई छ । अनुमानित २ लाख रकम खर्च हुने उनले जनाए । उत्पादन भएका माछालाई माझीले नै आएर लैजाने गरेको उनेले बताए । बजारमा चित्तलपेटी १५ सय र कार्रप ३ सय प्रति किलोमा बिक्री हुने गरेको उनको भनाई छ । नीजि लगानीबाट विगत चारवर्ष अघिबाट शुरु गरेपनि हालसम्म कुनै निकायले अनुदान नदिएको उनि बताउँछन् । कृषि विकास, भु–संरक्षण कार्यालयले आश्वासनमात्र दिएर कृषकको उर्जालाई निरास बनाउने काम गर्दै आएको प्रति दुःख जनाउँछन् । तत्कालिन बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले ‘ दुइलाख रकम आउदैछ निवेदन दर्ता गराएपछि मात्र पोखरी खन्नु’ भनेपनि व्यवसाय शुरु गरेको चार वर्षमा पनि कुनै रकम नपाएको उनले जनाए । ‘मुखले ठिक पार्ने काम चै नगर्ने ’परिपाटिले कृषकको उत्साहलाइ निरास पार्ने काम भएको उनको भनाई छ । अक्सिजनको कमी भएर माछा मरेपछि दुइ वर्ष अघि ७५ प्रतिशत अनुदानमा अक्सिजन दिने उपकरण पाए बाहेक अरु केही सहयोग नपाएको उनले जनाए । जिल्ला भू– संरक्षणले समेत तार जाली उपलब्ध गराउने भनेपछि दुइवटै कार्यालयमा दर्ता गराएको फायल त्यत्तिकै रहेको उनले बताए । पोखरीमा पानीको मूल फुटेर कहिल्यै नसुक्ने भएपछि निकास जाने ठाउँ नभएको उनले समस्या देखाए । वरिपरी अर्काको जग्गा भएकोले पानी फाल्न नमिल्ने उनको भनाइ छ । माछामा समस्या देखिएमा कृषि विशेषज्ञ नआउने भन्दै किसानका लागि आएको बजेट अनुगमनको नाटक गरेर दुरुपयोग गरेको उनको आरोप छ ।
नापी कार्यालयबाट अवकास प्राप्त भएपछि कृष्ण न्यौपानेको जग्गालाई पाँच वर्षको सम्झौता गरेर व्यवसाय शुरु गरेको उनले सुनाए । वैदेशिक रोजगारबाट निरास भएर आएका र जाने तरखरमा रहेका झापा, मोरङ्का केही यूवालाई माछा तथा कुखुरा फारम सञ्चालन गर्न प्रेरित गरे अनुरुप काम गरिरहेको उनले बताए । स्वदेशमानै गर्दा हुन्छ तर उत्साह जागेर आउनु पर्ने उनको धारणा थियो ।