बिर्तामोड/ नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई बिना सुचना लगातार विजुली काटेको भन्दै बिहिबार उपभोक्ताले ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन् ।

सुरुङ्गाका उपभोक्ताले बिना सुचना बिजुली काटेको भन्दै विहान ११ बजे विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न गएका थिए । कार्यालय पुगेका सयौँ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत हाकिम सहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर तातो घाममा उभ्याएर सजाय दिएका हुन ।  ‘उनीहरु एसिमा बस्छन् हामी सर्बसाधरणलाई रातदिन लाईन जाँदा कस्तो हुन्छ भन्ने सबक सिकाउन हाकिमलाई तातो घाममा राखेका हौ, स्थानीयबासी तथा आन्दोलनकारी मध्येका कवि प्रसाइले भने । गाउलेहरुले विजुली पटकपटक काट्नुको साटो लोडसेडिङ गर्न प्राधिकरणलाई सुझाव दिएका छन् । विद्युत प्राधिकरणमा जम्मा भएका सर्वसाधरणले विद्युत आर्पुति नियमित गर, विद्युत काट्नु पहिले सञ्चारमाध्यममा सुचना गर, लोडसेडिङ मुक्त गर, विद्युतका कारणले बिग्रिएका उपकरणको क्षतिपुर्ति दे, विद्युत काउन्टर व्यावस्थित गर लगायातका नारा लगाउदै आक्रोसित भिड प्राधिकरण पुगेको थियो । प्राधिकरण घेराउका लागि विहिबार विहानैदेखि सुरुङ्गा बजारमा माइकिङ्ग समेत गरिएको थियो । प्राधिकरण घेराउको सुचना प्रशारण गरेपछि विद्युत प्राधिकरण परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।