विराटनगर । पूर्वी तराईमा केही दिनयता तापक्रम बढेको छ । ३५ देखि ३७ डिग्रीसम्म तापक्रम बढेपछि गर्मी छल्न बालबालिकादेखि युवायुवतीको भीड स्विमिङ पुलमा देखिन थालेको छ । धेरैले दिन कटाउने थलो स्विमिङ पुललाई बनाउन थालेका छन् । विराटनगरको हाटखोलामा रहेको फन एण्ड फुड भिलेज रिसोर्ट प्रालिको सुविधा सम्पन्न स्विमिङ पुलमा पौडिएर रमाउन चाहने ४ वर्षदेखि ५० वर्षसम्मका पारखी देख्न सकिन्छ । ‘गर्मी छल्न दैनिकजसो स्विमिङ खेल्न जाने गरेको छु’ विराटनगरका जय शर्माले भने, ‘गर्मीमा पौडी खेल्दा केही राहत महसुस हुने र स्वास्थ्यसमेत राम्रो रहने भएकाले स्विमिङ आइन्छ ।’ दैनिक मौसममा तापक्रम थपिँदै जाँदा युवायुवतीको जमातले इटहरीस्थित ओसिन पार्क पनि व्यस्त छ । कतिपयले पौडी शोख र फेसनजस्तो बन्दै गएको सुनाउने गरेका छन् । केहीका लागि भने पौडी लत नै भएको छ । ‘गर्मीमा एक दिन पौडी खेलिएन भने मलाई छट्पटी हुन्छ, रातमा निन्द्रा पर्दैन’ –स्विमिङ खेलेर घर फर्कंदै गरेका विराटनगर हस्पिटल चोकका वीरेन्द्र महासेठले भने । शारीरिक व्यायामका हिसाबले पौडी राम्रो मानिन्छ । स्वास्थ्यका लागि लाभदायी मानिन्छ । होटल र सुविधासम्पन्न रेष्टुरेन्टहरुमा पौडी पोखरी अनिवार्य हुन थालेको छ । यहाँ ३ महिने, ६ महिने र १ वर्षे सदस्य शुल्क लिएर प्याकेजका आधारमा पौडी खेलाइन्छ । बेला–बेलामा हुने पौडी प्रतियोगिताले पनि पौडीलाई लोकप्रिय बनाउन मद्दत गरिरहेको छ । फन एण्ड फुड भिलेज रिसोर्टमा स्विमिङ पुलमा गर्मीमा एक महिनाको लागि ४ हजार ५ सय रुपैयाँ प्याकेज रकम बुझाउनु पर्ने हुन्छ । यस्तै दैनिकमा २० वर्षदेखि माथिका एक जनाको २ सय रुपैयाँ र ६ वर्षदेखि २० वर्षका लागि १ सय ५० रुपैयाँ लिने गरिएको छ । रिसोर्टका निर्देशक भूपाल राई भन्छन्, ‘अहिले पौडी भनेको राम्रो व्यायाम हो भन्ने बुझिएको छ, त्यसैले पनि यसप्रति आकर्षण बढ्दो छ ।’ गर्मीमा शितल हुनमात्र होइन, स्वास्थ्यप्रति सचेत भएर पनि स्विमिङ पुल पुग्नेहरूको सङ्ख्या बढेको उनी बताउँछन् । दैनिक ५० सयदेखि १ सय जनासम्म स्विमिङ खेल्न रिसोर्ट आउने गरेको निर्देशक राई बताउँछन् । रिसोर्टमा बालबालिकाको लागि छुट्टै छरितो आकारमा स्विमिङ पुल रहेको छ भने युवाको लागि छुट्टै छ । ३ बिघा क्षेत्रफलमा रहेको रिसोर्टभित्रको स्विमिङ पुलका साथै शारीरिक व्यायाम गर्नको लागि फिटनेस सेन्टरसमेत छ ।