विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (बीबीए) विषयमा दीक्षित भएका छन्  । बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले चार वर्ष अध्ययनपश्चात् विद्यार्थीलाई विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी दीक्षित गरेको हो । बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयका उपकूलपति जिअफ लेयरले विद्यार्थीलाई दीक्षित गरेका थिए  । समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताए । उनले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्तसमेत गरे । इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए । सो अवसरमा बेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीमा कुनै भिन्नता नरहेको बताए । बेलायतको शिक्षा नेपालमै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित विद्यार्थीहरूले अनुभव साटे  । इनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौं, पोखरा, इटहरीजस्तै विराटनगरमा पनि बीबीएमको कोर्स मेरिल्याण्ड कलेजले सञ्चालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बीबीएम) सर्वशुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर, इस्लिङ्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेश्नल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।