इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पस पहुँचवालाहरुको भर्ती केन्द्र हुन पुगेको छ । केहि समय देखि विवादमा फसेको जनता बहुमुखी क्याम्पस पहुँचवालाको जागिर लगाउने भर्तीकेन्द्र हुन पुगेको हो । क्याम्पस सञ्चालन गर्न बनेको विधान विपरीत क्याम्पस प्रमुख र पदपूर्ति समितिले मनपरी कर्मचारी भत्र्ती केन्द्र बनाएको सामाजिक अगुवाहरुले आरोप लगाएका छन । शुरुमा पुस्तकालय सहायकको लागि पत्रिकामार्फत् एकजनाको लागि खुल्ला आवेदनको सूचना प्रकाशित गरिएको थियो । आफैले बनाएको विधानलाई नै लत्याउँदै क्याम्पस प्रमुख भोजराज श्रेष्ठ र पदपूर्ति समितिका संयोजक चन्द्र भट्टराईको योजनामा भट्टराईका छोरी सृष्टि र पदपूर्ति समितिका सदस्य विकास केसीको श्रीमतीलाई ई–लाइब्रेरी (कम्प्युटर ल्यावसहित) सहायकको लागि शारदा पोखरेललाई जागिर लगाएको भन्दै जनता क्याम्पस विवादमा मुछिएको हो । कुनै पनि पदको पूर्ति गर्न क्याम्पसले पत्रिका मार्फत् सूचना निकाली खुल्ला आवेदन जारी गरी प्रतिस्पर्धीबीच लिखित र मौखिक परीक्षा लिनुपर्ने हुन्छ । पुस्तकालय सहायकको लागी आवेदन भर्ने पवित्रा दर्नाल, रिना भट्टराई (आचार्य) र सञ्जीवकुमार दाहाललगायतले नियुक्ति गरिएको आरोप लगाएका छन् । उनीहरुले सृष्टि भट्टराई र शारदा पोखरेलको नजिता सार्वजनिक गर्न माग गरेका छन् । आवेदन दिएकी पवित्रा दर्नालले आफ्नो मान्छे लगाउन आफूलाई फेल बनाएको आरोप लगाइन् । ‘लिखित र मौखिकमा दिइएको सम्पूर्ण नम्बर र पपेर सार्वजनिक गर्नुपर्छ’ –उनले भनिन् । एक पदको लागि दुईजनालाई नियुक्ति गरेसँगै राजनीतिक भागबण्डामा थप दुईजना नियुक्ति गरिएको छ । काङ्ग्रेस र नेकपा माओवादी(एमाले) का तर्फबाट पुस्तकालय सहायकको लागि शारदा पोखरेल र सृष्टि भट्टराईलाई विधान विपरीत नियुक्ति गरेपछि सञ्चालक समितिका सदस्य युगप्रिय निरौलाले अनु तामाङ र व्यवस्थापन समितिका उद्धवप्रसाद पौडेल, दुर्गा चौधरीको नियुक्ति गराएपछि क्याम्पसमा विवादले उग्ररुप लिएको छ । जनता क्याम्पस व्यावस्थापन समितिका सदस्य तथा पूर्व स्ववियु सभापति रमेश पोखरेलले पछिल्लो समयमा जनता क्याम्पस बदनाम भइरहेको बताए । पदपूर्ति समितिका संयोजक चन्द्र भट्टराईले भने आफ्नी छोरी कुनै सोर्सफोर्सले नभई परीक्षा र अन्तरवार्तामा पहिलो भएर आएको जनाए । उनले काठमाडौंबाट आएको विज्ञ टोलीले अन्तरवार्ता लिएको भन्दै आफ्नो छोरी सोर्सले नराखेको बताए । पदपूर्ति समितिका सदस्य विकास केसीको श्रीमतीले वैकल्पिकमा नाम निकालेकी थिइन् । ‘त्यतिबेलै प्रशासनले थप कर्मचारी चाहियो भनेपछि हामीले शारदा पोखरेललाई सिफारिस गरेका हौं’ संयोजक भट्टराईले भने, ‘हामीले प्रक्रिया पूरा गरेरै कर्मचारी नियुक्ति गरेका छौं ।’ ५ जना अन्तरवार्तामा आएको र उनीहरुमध्येबाट सृष्टि र शारदालाई सिफारिस गरेको उनी बताउँछन् । यता जनता क्याम्पसका क्याम्पस प्रमुख भोजराज श्रेष्ठले भने प्रशासनले व्यवस्थापन समितिलाई कर्मचारीको दरबन्दी मागेको बताए । ‘हामीले मागेअनुसारको कर्मचारी व्यवस्थापनले दिएको हो, व्यवस्थापन समितिले दरबन्दी स्वीकृत गर्ने गर्छ’ –उनले भने । ‘एक जना कर्मचारी पहिला खाली थियो । पछि एकजना माग गरेका थियौं’– क्याम्पस प्रमुख श्रेष्ठले भने । जनता क्याम्पस विरुद्ध कारण देखाउ आदेश जारी नियम विपरीत जनता बहुमुखी क्याम्पसमा गरिएको नियुक्तिलाई उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । एक पदमा दुईजनालाई नियुक्ति गरिएको बिषयमा परेको निवेदनमाथि फैसला गदंै १५ दिनभित्र लिखित दिन आदेश जारी गरेको हो । इटहरी–५ का तेजबहादुर परियारले दिएको उजुरीमा क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, पदपूर्तिका संयोजक चन्द्र भट्टराई, सदस्य विकास केसी, सदस्य उद्धवप्रसाद पौडेल, सदस्य युगप्रिय निरौला, शारदा पोखरेल, सृष्टि भट्टराई र सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । परियारको श्रीमती पवित्रा दर्नाललाई धाँधली गरेर परीक्षामा कम अङ्क दिएर पास नबनाएको दाबी छ ।