इलाम । जिल्लाको सबैभन्दा ठूलो प्रतियोगिता माईभ्याली गोल्डकपको प्रथम संस्करणबाट आर्थिक सहयोग गर्दै आएका इलामको सूर्योदय नगरपालिका निवासी तारा एवम् रोजु सापकोटाले माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । शुक्रबार एम्बुलेन्स हतान्तरण कार्यक्रममा माईभ्याली फुटबल क्लबका उपाध्यक्ष वसन्त थाम्सुहाङले स्वागत मन्तव्य राखेका थिए । यस्तै अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य निरोज खड्गीले नेपाली सेनाको जग्गा रहेको इलामको ठूलो टुँडिखेलमा मैदानको अवरोधका कारण एन्फाले मैदान मर्मतमा दिएको रकमसमेत करफोकमा रहेको अर्को खेल मैदानमा छुट्याउनुपर्ने बाध्यता रहेको बताए । उनले स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिलगायत केन्द्रले इलामको ठूलो टुँडिखेलप्रति चासो नदिने हो भने सहयोग र सद्भावसँगै इलामको शान नै धरापमा पर्ने बताए । उनले मैदानलाई फुटबल क्लबको काममा नल्याए तापनि स्थानीय तहको बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले इलामको टँुडिखेल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने सम्बन्धमा नेपाली सेनाले सुझाव सङ्कलन गर्ने भएकाले यसले इलामेलीलाई केही आशा जगाएको र ठूलो टुँडिखेललाई स्थानीय स्तरको बनाउन महत्वपूर्ण भूमिका रहेको बताइन् । यस्तै कार्यक्रमका अतिथि तथा एम्बुलेन्सदाता तारा सापकोटाले इलामको शान माईभ्याली गोल्डकप प्रतियोगितामा तन मनले सहयोग गरेको र यसले सबैमा प्रेरणा मिलोस् भन्ने आशा गरेको बताए । मैदानलाई स्थानीय स्तरको बनाई सम्पूर्ण इलामेलीको पहिचान माईभ्याली गोलडकप प्रतियोगितालाई थप आकर्षित बनाउन पहल गर्नुपर्नेमा जोड दिए । माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले नेपालकै सुन्दर नमुना गोल्डकप बनाउन जिल्ला फुटबल सङ्घ, अखिल नेपाल फुटबल सङ्घ, माईभ्याली फुटबल क्लबका साथै आम सञ्चारमाध्यम लागिपरिरहेको बताए । २५ रोपनी आठ आना जग्गामा रहेको इलामको ठूलो टँुडिखेल नेपाली सेनाले अतिक्रमण हुने त्रासले अन्य संस्थालाई नदिएकाले स्थानीय सरकारलाई हस्तान्तरण गर्न मिल्ने वा नमिल्ले भन्ने स्थानीय सरकार, जनप्रतिनिधिहरुको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । सार्क राष्ट्रको ढुकढुकी, एन्फा तथा एसियन फुटबलमा पुगिसकेको माईभ्याली गोल्डकप शून्यतामा परिणत हुनु खेल, खेलाडी तथा राष्ट्रको फुटबल कमजोर हुनु हो । मैदानलाई स्थानीय सरकार, क्लबको मातहतमा ल्याउन सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । प्रथम संस्करणको माईभ्याली गोल्डकप प्रतियोगितादेखि नै आर्थिक सहयोग गर्दै आएका सहयोगी दाता तारा रोजु सापकोटाले समग्र इलामेको हितका निमित्त एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्र्दै यसलाई शव वाहनको रूपमा सञ्चालन गरी सबै इलामेलीलाई सरल र सहज सेवा उपलब्ध गराउने बताए ।