पाँचथर । नयाँ नमुना सहरको रुपमा बिकास भइरहेको पाँचथर सदरमुकाम फिदिममा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । फिदिमका केही युवा व्यवसायीहरुको सक्रियतामा जिल्लामै पहिलोपल्ट परिक्षण उडान गरिएको हो । शुक्रबार सम्भाब्यताको खोजि गरी शनिबार नगरपालिकाको दुई स्थानबाट परिक्षण उडान गरिएको हो । पहिलोपल्ट फिदिम नगरपालिका–५, लब्रेकुटिदेखि फिदिम नगरपालिका–३, लालीखर्कको टारीसम्म ८ मिनेटको उडान गरिएको थियो । त्यस्तै दोस्रोपल्ट फिदिम नगरपालिका–२, रमितेबाट फिदिम बजारसम्मको १७ मिनेट लामो परिक्षण उडान गरिएको थियो । दोस्रोपल्टमा फिदिम बजार स्थित फिदिम माविको खेलमैदानमा ल्याण्ड गरिएको थियो । उक्त परिक्षण उडान भारतको सिक्किमको ओ एड्भान्चर नामक कम्पनिमा कार्यरत चालक केशव अधिकारीले गरेका हुन् । परिक्षण उडानपछि चालक अधिकारीले फिदिममा सहजै प्याराग्लाइडिङ उडान गर्न सकिने बताए । रमितेदेखि फिदिम बजारसम्म मजाले उडान भर्न सकिने तर ल्याण्डका लागि भने खेलमैदानको विकल्प खोज्नुपर्ने अधिकारीले बताए । फिदिमका युवा व्यवसायीहरु रमेश अधिकारी, दिलीप अधिकारी र गणेश काफ्लेको सक्रियतामा परिक्षण उडान गरिएको हो । परिक्षण उडानको क्रममा उडान भर्न सकिने देखिएकाले आगामी दिनमा अनुमति लिएर व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिने व्यवासायी काफ्फेले बताए । प्याराग्लाइडिङले जिल्लाको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने समेत उनले दाबि गरे । पहिलोपल्ट गरिएको परिक्षण उडान हेर्न लब्रेकुटि, लालीखर्क, रमिते र फिदिममा स्थानीयको भिड लागेको थियो । चाँडै व्यवसायिक प्याराग्लाइडिङ सुरु भए प्याराग्लाइडिङको आनन्द लिन चाहनेहरु जिल्ला बाहिर पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।