घरमै पकाएर ल्याएको सेलरोटी प्याकेटमा हालेर बेच्नमा उनीहरु तल्लिन थिए । बेच्नमा अरुले पनि साथ दिइरहेका थिए । किन्नेहरुले पनि त्यसको मुल्य भन्दा कैयौं गुणा बढी मुल्य चुकाइरहेका थिए । सोमबारको त्यो दृष्य हो मोरङ बेलबारीको ।
‘मिसेस नेपाल’ रियालिटी सोमा सेकेन्ड रनरअपका साथै मस्ट ट्यालेन्ट टाइटल जितेकी लेटाङ ४ की ३५ वर्षीया शान्ति लामा पाख्रिन त्यसको अगुवा सेलिब्रेटी थिइन् । साथमा थिइन् लेटाङ ९ की ‘लेटाङ प्रिन्सेस’ २०१८ की बिजेता सुजता खतिवडा ।
उनीहरु अरुको रमिता बनेर आफ्ना लागि सेलरोटी बेच्दै थिएनन् । उनीहरुले हड्डीको क्यान्सरबाट पिडीत भएकी लेटाङ ९ जाँते बाह्कोठेकी १० बर्षीया मनिषा लिम्बूको उपचारका लागि यस्तो काम गरिरहेका थिए । लायन्स क्लब लेटाङकी अध्यक्ष समेत रहेकी समाजसेवी शान्ति भर्खरै सोही क्लबले सम्पन्न गरेको लेटाङ प्रिन्सेसकी उपाधि विजेता सुजतालाई लिएर सडकमा उत्रिइन् ।
‘एउटी विपन्न परिवारकी बालिकालाई बचाउने इराधाले हामीले यो उपाय निकालेर सहयोग संकलन गरिरहेका छौं ।’– शान्तिले भनिन् । मोडलिङ सहितका रियालिटी सोबाट मनोरञ्जन दुनियाँको सेलिब्रेटी हुने बुझाईमाझ सुजताले समाजसेवा गर्नु आफुजस्तो उपाधि पाउनेका लागि बढी व्यवहारिक हुने धारणा राखिन् ।
समाजसेवामा ज्यादै व्यस्त शान्तिले नै सुजतालाई यस्तो अभियानमा अघि सारेकी हुन् । सेलिब्रेटीहरुको यो संयोजनको सेलरोटी बेचाइबाट एकै दिन ६१ हजार २ सय ११ रुपैयाँ संकलन भएको सुखद पक्ष हात पर्यो । ‘अब हामी पानी र चटपटे समेत बेचेर उनको ज्यान बचाउने अभियान जारी राख्ने प्रण गरिसकेका छौं ।’– सुजताको समेत समर्थन जोडेर शान्तिले थपिन् । विपन्न बालिकाको उपचार सहयोगका लागि भनेर ५० को प्याकेटको सेलरोटीलाई मनकारीहरुले ३ हजारसम्म दिएर सहयोग गर्न पुगेको उनले सुनाइन् ।
त्यसमा, लायन्स क्लब बेलबारी सहआयोजक बनेर सहयोग पुर्याएको थियो । १० हजार रुपैयाँ लेटाङ लायन्सले सहयोग गरेर सहयोग संकलनको अभियान थालियो ।
हर्कवीर र मनिताको सन्तान मनिषाको उपचारका लागि २० लाख हाराहारीमा खर्च लाग्ने भएपछि परिवार नीकै समस्यामा परेको खवर पाएर उनीहरु सहयोग जुटाउन लागे । हर्कवीर रोजगारीका लागि खाडी मुलुकमा छन् भनें यता मनिता ज्याला मजदुरी गरेर छोराछोरीको लालनपालनमा छिन् । ५ कक्षा पढ्दै गरेकी मनिषालाई भरतपुर क्यान्सर अस्पताल चितवनमा एकपटक किमोथेरापी गराइएको छ । १५ दिनको फरकमा थेरापी गराउनु पर्छ । अव दोस्रो पटकका लागि पनि उनीहरु भरतपुरतर्फ लागेका छन् । एक पटकको थेरापीमा ३० हजार हाराहारी खर्च हुने गरेको छ ।