भद्रपुर/ नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठाको ओसार पसारमा कारोबारीले बालबालिकालार्इ प्रयोग गराउन थालेका छन् । झापाको भद्रपुर, काँकडभिट्टा लगायतका बजारमा भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिट्ठा बिक्रीमा बालबालिकालाइ सम्लग्न गराएको पुष्टि भएको छ ।
सीमा क्षेत्रमा खटिएका प्रहरीले उमेर पुगेका मानिसलाइ निगरानीमा राखेपछि पछिल्लो समय साना केटाकेटीलार्इ माध्यम बनाई चिठ्ठा नेपाल भित्रीन थालेको हो । भद्रपुर क्षेत्रमा प्रहरीले भारतीय चिठ्ठा व्यापारीलाइ पटक-पटक पक्राउ गरेपछि कारोबारीले बालबालिका प्रयोग गराउन थालेका छन् । चिठ्ठाको विषयमा सञ्चार माध्याममा समाचार प्रकाशित भएसँगै कारोबारीले नँया तरिका अपनाएको पाइएको छ ।
यसैक्रममा वडा प्रहरी र सशस्त्र प्रहरी भद्रपुरको संयुक्त चेकजाँच टोलीले आइतबार साँझ भद्रपुर स्थित मेची पुलबाट भारत दार्जेलिङ् विनाबारीका १४ वर्षिय मोहमद् फुलोको साथबाट २५ ठेली भारतीय चिठ्ठा बरामद गरेपछि यस्तो पुष्टि भएको हो । पक्राउ परेका बालकले भद्रपुर बजारमा लैजाने गरेको बताएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जनाए । चिठ्ठासहित बालक पक्राउ परेपछि विभिन्न क्षेत्रबाट प्रहरीलाइ दबाब आएको बुझिएको छ । घट्ना लगत्तै बालकलार्इ छोडिदिनु भन्दै नेता तथा कार्यकर्ताले दबाब दिन थालेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले यसअघि आधा दर्जनभन्दा बढी भारतीय चिट्ठा बिक्री गर्ने भारतीय नागरिलाई पक्राउ गरि कारबाही गरिसकेको भएपनि यो कारोबार नियन्त्रणमा प्रहरी असफल बनिरहेको विभिन्न घट्नाक्रमले देखाएको छ । बालबालिकाले चिठ्ठा भित्र्र्याउने र कारोबारी भद्रपुरमा बसेर चिठ्ठा कटाउने गरेको बुझिएको छ । बरामद चिठ्ठाको मूल्य चारहजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
नाबालक भएकोले सम्झाएर आइन्दादेखि यस्तो नगर्ने कागज गराएर छाडिने झापाका एसपी विष्णु कुमार केसीले बताए । बिक्री बितरणको बारेमा कसैले उजुर नगरेसम्म मुद्दा चलाउन नपाइने एसपी केसीको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार चिट्ठा बेच्ने भारतीय नागरिकहरू लुकिछिपी पसल–पसलमा गएर तथा चिट्ठा खेल्ने सम्बन्धित व्यक्तिलाई नै भेटेर सुटुक्क चिट्ठा बिक्री गर्ने गरेको बताउँछन् । प्रहरीको निगरानी बढेसँगै भारतबाट खुलेआम रुपमा चिट्ठा बिक्री गर्न नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकोहरूको अनुरोधमा लुकाई छिपाई भारतीय चिट्ठा नेपाल भित्रने गरेको छ । मुख्यगरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट ,भाडा पसल जस्ता स्थानमा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । पक्राउ परेका व्यक्तिहरू क्यारियर मात्र भएको र खेल्नेहरू नेपालमै प्रशस्त भएकोले उनीहरूलाई प्रहरीले छुन पनि नसक्ने स्थानीयको भनाई छ । भद्रपुरमा भारतीय चिट्ठा खेल्ने गिरोह नै छ । उनीहरूलाई पक्राउ गरी कानूनी कार्वाही नगरेसम्म भद्रपुरमा भारतीय चिट्ठाको धन्दा बन्द नहुने केही व्यापारी बताउँछन् । पहिला ५ लाख पर्ने चिट्ठा, १० लाख, २५ लाख हुँदै अहिले ५० लाख पुगेको उनिहरु बताउँछन् ।
चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाउने साथै ६ महिनासम्म कैद वा दुबै सजाय हुने स्पष्ट उल्लेख गरिएको छ ।