विराटनगर । मोरङको केराबारी गाउँपालिका – १० मा पर्ने जंगलमा अबैध रुपमा काठ तस्करी गर्ने तस्कर र सालको काठ बरामद गर्न प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ ।

इलका प्रहरी कार्यालय केराबारीले सोमबार राती हवाइ फायर गरेर बहुमुल्य सालको काठ बरामद गरेको हो । केराबारीको कालीपोखरी जाने बाटोको जंगलमा काठ तस्करी गर्ने तस्कर समूहले प्रहरीमाथि खुकुरी प्रहार गरेर प्रतिकार गरेपछि हवाई फायर गरेर सालको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । तस्करी गरेर केराबारी बजारतिर लैजाँदै गरेको अवस्थामा इप्रका केराबारीबाट सइ दिपक यादवको नेत्रृत्वमा गएको प्रहरी टोलीले काठ नियन्त्रणमा लिएको हो । ९/१० जनाको संख्यामा रहेका तस्करको समूहले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि काठ नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको एसपी केसीले बताए ।

‘तस्कर समूहले काँधमा सखुवाको चिरान काठ बोकेर जंगलको बाटो हुँदै बजारतर्फ लादै गरेका थिए,’ एसपी केसीले भने, ‘त्यही क्रममा डियूटीमा खटिएको प्रहरीसँग तस्करको भेट भयो । प्रहरीले तस्करलाई नियन्त्रण लिने क्रममा तस्करी गर्ने समूहले खुकुरी प्रहार गरेर प्रतिकार गर्न खोज्दा हवाइ फायर भएको हो,’ एसपी केसीले भने । त्यसपछि तस्करीमा संलग्न प्रहरीमाथि खनिएको प्रहरीको भनाई छ । तस्करीको काठ नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले फायर नै खोल्नु परेको प्रहरीले बताएको छ ।

 

हवाई फायर गरिएपछि भने तस्करीमा संलग्न काठ त्यहीं छाडेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट तस्करी गर्दै गरेको सखुवाको छ वटा चिरान काठ, काठ काट्न प्रयोग गरिने आरा लगायतका विभिन्न औजारहरु, टर्च लाइट, खुकुरी, डोरी समेत बरामद गरेको छ । बरामद काठ सहितका सामान आवश्यक कारवाहीका लागि प्रहरीले मंगलबार सेक्टर वन कार्यालय सलकपुरमा बुझाएको इप्रका करेबारीका सही यादवले जानकारी दिए ।

स्थानिय वनको सहयोगमा एक महिना अघि अवैध रुपमा काठ तस्करीमा संलग्न पाँच जना र १२ क्यूफिट सालको काठ प्रहरीले पक्राउ गरेको थियो ।