बेलबारी  । वर्षातको समयमा विद्युत सेवा नियमित नहुँदा मोरङको केराबारी गाउँपालिकाका बासिन्दाहरु समस्यामा पर्दै आएका छन् ।

सामान्य मेघ गर्जदा र पानी पर्दा समेत विद्युत आपूर्ति बन्द हुदा केराबारीका बासिन्दाहरु मार्कामा पर्दै आएको स्थानीयहरुको गुनाशो रहेको छ । केराबारीमा फ्युज सेन्टर भएता पनि कर्मचारी छैनन्, त्यसकारण एउटा फ्युज जाँदा समेत त्यसको मर्मतको लागि बेलबारी सम्पर्क गर्नुपर्ने र त्यहाँबाट पनि ढिला सुस्ती हुँदा त्यसको समस्या खेप्नु परेको स्थानीयको गुनाशो रहेको छ ।

खोर्साने देखि करिब ९ किलोमिटर उत्तरमा रहेको केराबारी बजारमा वर्षातको समयमा पानी पर्ने र रुखका हाँगा झर्दा तार छिनेर विद्युत आपूर्तिको समस्या झेल्दै आएको स्थानीय बासिन्दाहरुले बताएका छन् । त्यसलाई मर्मत गर्न प्राधिकरणले ढिलासुस्ती गरिदिने जस्ता समस्याका कारण केराबारीबासी पीडित रहेको छ । पछिल्लो समयमा विद्युत उपभोक्ता र विभिन्न उद्योगहरुको विस्तार संगसंगै विद्युतको ट्रान्सफरर्मर क्षमता नथप्दा पनि समस्या उत्पन्न भएको छ ।

केराबारी गाउँपालिका अन्र्तगत पर्ने सिंहदेबी ,याङशिला ,डाँगी लगायतको क्षेत्रमा विधुतका सेवाग्राहीहरुले हैरानी खेप्नुपरेको केराबारीका उपभोक्ताहरुले बताएका छन् । विद्युत मर्मतको लागि फोन गरेता पनि फोन नउठ्ने , फोन उठेपनि पहिले अरु तिर काम सकेर मात्र प्राविधिक आउने गरेको स्थानीय वासिन्दाहरुले बताएका छन् । त्यसैगरी विद्युतसेवा सहज र सरल नभएको , विद्युत सेवा लिनभन्दा बढी सास्ती खेप्नुपरेकोले भन्दै स्थानीयबासी सहितको टोलीले सोमबार विधुत प्राधिकरण बेलवारीका कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका छन् । युवासंघ नेपाल र वाइसिएल नेपालको नेतृत्वमा गएको स्थानीय बासिन्दाहरुको टोलीले कार्यलय प्रमुख विनोदकुमार यादव भेट गरि विद्युत समस्याको बेली बिस्तार सुनाउदै ७ बुँदे माग पत्र बुझाएको युवासंघ नेपाल केराबारीका अध्यक्ष विवेक भूजेलले बताएका छन् । ज्ञापन पत्रमा यथाशिघ्र ट्रान्समिटरको क्षमता बृद्धि गर्न,तत्काल फ्युज सेवा सूचारु गर्न,केराबारीको बिभिन्न टोल बस्तीहरुमा अव्यवस्थित रुपमा रहेका पोल तथा तारहरु व्यवस्थित गर्न समेत माग गरिएको वाईसिएल नेपालका प्रदेश सचिव खगेन्द्र सुवेदीले बताए । केराबारी,खोर्साने,जंगलमा हावाहुरीको समयमा विधुत अवरोध हुन नदिन फाइवर तथा अन्डरग्राउण्ड सिस्टमबाट तार विधुत सप्लाईको आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायमा पेश गर्न माग गरेका छन् । कार्यलय प्रमुख विनोद कुमार यादवले भने आफनो श्रोतसाधनले भ्याउने र गर्न सक्ने जति सवै काम हप्तादिनभित्र गर्ने र बाकी काम सम्बन्धित विभाग र कार्यालयमा फाइल पठाउँने आश्वासन दिनुभयो । यादवले फ्युज सेवा माग गर्दै आएको प्रति सकारात्मक रुपमा लिएको र विधुत महशुल अनलाइन सिस्टममा गर्न आवश्यक व्यवस्था गर्न सकारात्मक रहेको बताएका छन् ।