उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस पुरानै अवस्थामा फर्किने क्रममा छ । ‘प्लस टु’ का कारण प्रभावित बनेको क्याम्पस अहिले पुनः पुरानै अवस्थामा फर्किँदै गरेको हो । कुनै समय पहाडी क्षेत्रबाट पढाइका लागि गन्तव्य बनेको क्याम्पस झण्डै दुईदशक शिथिल बनेको थियो । ३२ वर्षअघि दुई विगाहा क्षेत्रफलमा निर्माण भएको उर्लाबारीको एकमात्रै क्याम्पसको शाख हरेक वर्ष गिर्दो अवस्थामा पुगेपछि स्थानीय चिन्तित थिए । यति सम्मकी क्याम्पसले प्राध्यापक र कर्मचारीलाई तलबसम्म खुवाउन नसक्ने अवस्था थियो । तर पाँच वर्षयता फेरि क्याम्पसको मुहार फेरिँदै गएको छ । पाँच वर्षअघि नियुक्त भएका क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेको एक्लो प्रयासबाट अहिले क्याम्पस व्युँतिदै छ । दुई दशकमा ७० लाख रुपैयाँ ऋणी बनेको क्याम्पस पाँचवर्षमै कायापलट गर्न सफल भएको छ । प्रमुख लामिछानेले ‘प्लस टु’ मात्रै सञ्चालन गरेनन् । विद्यार्थीको मागअनुसार अध्ययन क्षेत्र बढाए । विभिन्न सङ्घ, संस्थाको आर्थिक तथा भौतिक सहयोगले अहिले क्याम्पस पुरानै अवस्थामा फर्किन सफल भएकोमा उर्लाबारीबासी ढुक्क छन् । व्यवस्थापन सङ्कायमा स्नातक, मानविकीमा ग्रामिण विकास, शिक्षा सङ्कायमा स्नातकोत्तरसम्मको पठनपाठन बढाएपछि अहिले विद्यार्थीको सङ्ख्यामा पनि ह्वात्तै बढेको छ । क्याम्पस व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष कविराज बुढाथोकीले क्याम्पस प्रमुखले ल्याएका शैक्षिक सुधारका कार्यहरूलाई व्यवस्थापन समितिले साथ र सहयोग गर्नु पर्ने बताए । यो क्याम्पस नेपालका एकसय ८३ सार्वजनिक क्याम्पसमध्ये ४५ औ“ स्थान बनाउन सफल छ ।