उदयपुर । उदयपुरमा युवा उद्यमीलाई मङ्गलबार चेक हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिले युवा उद्यमी समूहलाई पहिलो किस्ता २ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । देस्रो किस्ताको बजेट स्थलगत अनुगमन गरेपश्चात् दिने समितिले जनाएको छ । जिल्लाको निर्वाचन क्षेत्रको आधारमा युवा उद्यमी समूहलाई गतवर्षदेखि ५ लाख बिना धितो र बिना ब्याजको ऋण प्रदान गर्दै आएको छ । बाख्रा, कुखुरा, च्याउ, अलैँची आदि व्यवसाय गर्ने युवा व्यवसायीलाई दुई किस्तामा रकम प्रदान गर्दै आएको समितिका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । क्षेत्र नं. २ को रौतामाई गाउँपालिका २ र ६ नं. वडाका युवा कृषक समूह र त्रियुगा नगरपालिका–९ का जनजागृति, यालीपात र सचेता केन्द्र युवा समूहले च्याउ, अलैँची र बाख्रा व्यवसायको लागि चेक प्रदान गरेको जिल्ला युवा समितिका अध्यक्ष पोखरेलले बताए । वैदेशिक रोजगारी जानबाट रोक्ने उद्देश्यले नेपाल सरकारको योजना नेपालको जनशक्ति नेपालमै प्रयोग गरौँ भन्ने लक्ष्यअनुरुप कार्यक्रम सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले ल्याएको ‘दिगो विकास एक निर्वाचन एक उद्यम’ युवा उद्यमशीलता कार्यक्रमले युवाहरु विदेशिनबाट रोक्न अहम् भूमिका खेल्ने आशा लिएको जनजागृति युवा कृषक समूहका अध्यक्ष केशव मगरले बताए ।