विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्यासम्बन्धी मुद्दाकोे पेशी पुनः सरेको छ । यससँगै पटक–पटक गर्दै एक महिनाको अवधिमा तीनपटक पेशी सरेको हो । अब आउँदो साताको बिहीबार पुन पेशी चढ्ने उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयणप्रसाद रेग्मीले जानकारी दिए । पहिलो पटक असार ७ गतेका लागि तोकिएको पेशी सरकारी वकिलको कार्यालयका वकिलले नभ्याएपछि असार १४ गतेको लागि तोकिएको थियो । त्यसपछि विभिन्न मितिमा तोकिएको पेशी सरकारी वकिलले नभ्याउने जानकारी आएपछि पुनः सारिएको उच्च अदालत विराटनगरले जनाएको छ । ‘सरकारी वकिलकोे कार्यालयबाट समय अभावले गर्दा बहस गर्न नसकिने भएकाले पेशीबाट हटाइपाऊँ भन्ने जानकारी आएको थियो’ रजिष्ट्रार रेग्मीले भने, ‘जानकारीअनुसार पेशी सारिएको हो ।’ यस मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला चित्त नबुझेपछि सादा तारिकमा छोडन माग राख्दै २८ जना पुर्पक्षको लागि थुनामा रहेका बन्दी र १ जना धरौटीमा छुटेका प्रहरी जवान विष्णुबहादुर खड्काले अदालती बन्दोबस्तीको मुलुकी ऐनको १७ नम्बर गरेका थिए । १७ नम्बर गर्नेमा थुनामा रहेका निलम्बन डिआइजी श्याम खत्रीदेखि उच्च ओहदामा रहेका प्रहरीसमेत रहेका छन् । उनीहरुले विभिन्न मितिमा १७ नम्बर गरेपछि बिहीबारसम्म ३० जनाको मोरङ अदालतबाट कैफियत प्रतिवेदन आएको रजिष्ट्रार रेग्मीले जानकारी दिए । जसमा निलम्बन डिआइजी श्याम खत्री, पूर्व डिआइजी गोविन्द निरौला, निलम्बन एसएसपी प्रदीप लोहनी, डिआइजीद्वय प्रजित केसी, सञ्जय राउत, सइ बालकृष्ण सञ्जेलको मोरङ अदालतले गरेको आदेशको कैफियत प्रतिवेदन आएको छ । त्यस्तै हेमन्त गौतम, सम्बिरप्रसाद तोलाङ्गे, एल.बी. भन्ने लालबहादुर मगर, टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ, महावीरप्रसाद गोल्यान, आर.के. भन्ने राजेन्द्रकुमार शाक्य, बिजेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, पुण्यप्रसाद लामा तामाङ, राजन थापा, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, माधव भन्ने मदनप्रसाद घिमिरे, अम्बरमान डङ्गोल, मदन सिलवालको कैफियत प्रतिवेदन आएको रजिष्ट्रार रेग्मीले बताए । कैफियत प्रतिवेदनमा अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेश रहनेछ । मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदनमा उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने गरेको छ । पेशी चढेपछि हुने बहसमा वादी र प्रतिवादीको कानून व्यवसायीहरुले बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरी प्रमाणको मूल्याङ्कन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा साधा तारिक वा धरौटीमा छाड्ने सक्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्नसक्ने अधिवक्ता विकास थापाले जानकारी दिए । मोरङ अदालतका न्यायाधीश नारायणप्रसाद शर्माले पहिलो पटक जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए । त्यसपछि विभिन्न मितिमा गरि अहिले पुर्पक्षको लगि थुनामा रहने ३४ जना पुगेका छन् । ३४ जनामध्ये ३० जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् ।