बेलबारी । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषाको विकास हुन नसक्दा निजी विद्यालयहरुले स्पेस लिएको बताएका छन् । नेपाल अङ्ग्रेजी भाषा शिक्षकहरुको साझा सङ्गठन नेल्टा मोरङको आयोजनामा भएको १ नम्बर प्रदेशस्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो बताएका हुन् । मोरङको सुन्दरहरैंचास्थित हातेमालो सहकारीको सभाकक्षमा भएको सम्मेलनमा मन्त्री घिमिरेले सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषाको विकास गर्नु जरुरी रहेको बताए । त्यसको साथसाथै निजी विद्यालयमा भएको अङ्ग्रेजी अनिवार्यले नेपाली भाषा लोप हुन सक्नेतर्फ पनि सबैले सोच्नुपर्ने बताए । कार्यक्रममा नेल्टाका पूर्वअध्यक्ष हेमन्तराज दाहाल, अध्यक्ष मोतीकला सुब्बा देवान र गुणराज नेपालले अङ्ग्रेजी भाषाको अवस्था, यसको विकासका चरण र पेशागत विकासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि नेल्टाका जिल्ला तथा केन्द्रीय प्रतिनिधिहरुले टिप्पणी गरेका थिए । कार्यक्रमकै अवसरमा अङ्ग्रेजी भाषामा लामो समयदेखि शिक्षण गरी योगदान पु¥याउने नेल्टाका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा डा.मोहन तुम्बाहाङ, अमृत आचार्य, गुरुप्रसाद अधिकारी, हेमप्रसाद तिम्सिना, केशवप्रसाद भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नेल्टाको प्रदेशस्तरीय सभालाई आफ्नै नगरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषाको विकास गर्न सम्मेलनले महत्वपूर्ण नीति तयार पार्नेमा आफू विश्वस्त रहेको बताएका थिए । साथै सम्मेलनले नरप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेशस्तरीय समितिको पनि चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले नेल्टाको प्रदेशस्तरीय समितिलाई नेल्टाको भावना र मर्मअनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सबै विषय अङ्ग्रेजी भाषामा प्रस्तुत गरिएको थियो । कार्यक्रम प्रदेश सांसद् राजकुमार ओझा, सुकुना क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई विशिष्ट अतिथि रहेका थिए । कार्यक्रम शङ्कर देवानले सञ्चालन गरेका थिए ।