इटहरी । इटहरी तथा आसपासका क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता–कार्यकर्ताहरुले व्यापारीहरुमा चन्दा आतङ्क फैलाएको भन्दै विप्लव कार्यकर्ता खोज्न प्रहरी लागेको छ । पछिल्ला केही दिनयता सुनसरी–मोरङको चारकोसे झाडीमा व्यापारी बोलाउँदै चन्दा माग्ने गरेको सूचना प्रहरीमा पुगेसँगै प्रहरी विप्लव कार्यकर्ताको पछि लागेको हो । पछिल्ला केही दिनयता इटहरी तथा आसपासका क्षेत्रमा विप्लव कार्यकर्ताहरुले व्यापारीमा चन्दा आतङ्क मच्चाएपछि विप्लव नेता तथा कार्यकर्ताहरु पक्राउ गर्न थालेको इटहरी प्रहरी बताउँछ । बम विष्फोट गराएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना नेता–कार्यकर्तालाई पक्राउ गरेसँगै आतङ्कको थप रहस्य खुल्दै गएको प्रहरी बताउँछ । प्रहरीले सङ्खुवासभा चैनपुर घर भई सुनसरी जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएका पुष्प कोइराला, सङ्खुवासभा मादीका डिबी सिलवाल र भोजपुर घर भई धरान बस्दै आएका सागर राईसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठ बताउँछन् । गत मंसिर १४ गते इटहरी र सङ्खुवसभाका विभिन्न स्थानमा विभिन्न समयमा बम विष्फोट गर्ने उनीहरु नै भएको प्रहरीको दाबी छ । पक्राउ पर्नेमध्ये कोइरालालगायतका समूहले पछिल्लो समयमा व्यापारीहरुसँग चन्दा आतङ्क मच्चाएको प्रहरीको बुझाइ छ । प्रहरीले कोइरालालाई इटहरी वडा नं. १ को नमूना टोल क्षेत्रबाट पक्राउ गरेको थियो भने सिलवाललाई इटहरी वडा नं. १ कै खड्ग खड्काको घरमा डेरा लिई कोठामा सुतिरहेका बेला पक्राउ गरेको हो । सागरलाई इटहरीकै आइतबारे क्षेत्रबाट पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । उनीहरुले धेरैवटा मोबाइल नम्बर समेत प्रयोग गर्ने गरेको प्रहरी स्रोत बताउँछ । फरक–फरक मोबाइल नम्बरबाट व्यापारीहरुलाई तर्साउनेहरुको खोजी भइरहेको प्रहरी बताउँछ । प्रहरीका अनुसार पक्राउ पर्ने कोइराला नेतृत्वको समूहले प्रदेशसभा र सङ्घीय निर्वाचनको पूर्वसन्ध्यामा मंसिर १४ गते इटहरी उपमहानगरपालिका वडा नं. ९ भलाद्मी टोलमा बम विष्फोट गराएकोले त्यसबारे पनि अनुसन्धान थालिएको छ । ‘इटहरी र सङ्खुवासभाका केही स्थानमा बम विष्फोटमा संलग्न भएकोमा कोइरालासहितका विप्लव कार्यकर्तालाई पक्राउ गरिएको हो’ डिएसपी श्रेष्ठले भने, ‘सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको छ ।’ त्यतिबेला बम विष्फोट हुँदा १४ महिने बालकसहित पाँचजना घाइते भएका थिए । त्यतिबेला नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारको प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको स्थान नजिकै बम विष्फोट हुँदा इटहरी वडा नं. ९ की जानुका न्यौपानेका १४ महिने छोरा युमन, ४२ वर्षीया निर्मला अधिकरी, १६ वर्षीया सिम्रना अधिकारी, ४० वर्षीय धनबहादुर श्रेष्ठ र ४५ वर्षीया कुमारी कट्वाल घाइते भएका थिए ।