धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रका विपन्न आठपहरिया परिवारलाई निःशुल्क सोलार सेट र सुधारिएको चुलो वितरण गरेको छ । साविकको वडा नं. ८ र ९ मा रहेका दर्जनौं गाउँबस्तीमा अझै पनि विद्युत् नपुग्दा टुकी बालेर बस्न बाध्य आठपहरिया समुदायलाई नगरपालिकाले सोलार सेट वितरण गरेको हो । शुक्रबार नगरपालिका कार्यालयपरिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी १ सय ९६ घरधुरीलाई सोलार सेट र १ सय ३४ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको सहयोगमा नगरको वडा नं. ८ का विपन्न आठपहरिया घरधुरीलाई सोलार सेट र सुधारिएको चुलो विरतण गरिएको केन्द्रका फोकल पर्सन विकास अधिकारीले ब्लाष्टलाई बताए । अधिकारीले सबैभन्दा बढी वडा नं.८ का आठपहरिया समुदायलाई वितरण गरे पनि नगरपालिकाको वडा नं..१ देखि १० सम्मकै लक्षित वर्गभित्र पर्ने दलित, विपन्न समुदायलाई सोलार सेट र सुधारिएको चुलो वितरण गरिएको बताए । उनले प्रतिसोलार सेट २ हजार ६ सय र प्रति सुधारिएको चुलो २ हजार ५ सयको दरले अनुदान दिइएको बताए । प्रति घरधुरीलाई सोलार प्यानल, कन्ट्रोलर, ब्याट्री, एलइडी बल्ब २ वटा, होल्डर २ वटा र मोबाइल चार्जर १ थान र एक–एक सेट सुधारिएको चुलो वितरण गरिएको डेल्टा डिष्ट्रिब्यूटर्स विराटनगरका मेनेजर रविन्द्र मण्डलले बताए । सोलार सेट र सुधारिएको चुलो धनकुटा नगरपालिकाको वडा नं.८ को बोर्दाङ टोल, भोगोडाङ टोल र खुम्बुडा टोलमा वितरण गरिएको छ । भौगोलिक विकटताको कारण ती टोलहरुमा विद्युत् वितरण हुन नसकेकाले सोलार सेट वितरण गर्नुपरेको धनकुटा वडा नं.८ का वडाध्यक्ष सुमन आठपहरियाले बताए । उनले वडाका दर्जनौं घरधुरीमा विद्युत् पुग्न नसके पनि सोलार पाएसँगै अँध्यारोबाट मुक्ति पाएको वडाध्यक्ष आठपहरियाले बताए । नगरपालिका स्थापना भएको ४० वर्ष नाघिसक्दा पनि नगरका १० वटै वडाका सबै गाउँ बस्तीहरुमा अहिलेसम्म विद्युत् पुग्न नसक्नु नगरको चौतर्फी विकास गरेर देश समृद्ध बनाउँछौं भन्ने जनप्रतिनिधिहरुको लागि चुनौती देखिएको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको १ वर्ष काटेको अवस्था छ, यो एक वर्षको अवधिमा विकट गाउँ बस्तीहरुमा विद्युत् विस्तारतर्फ खासै ध्यान नपुगेको वडा नं.८ का सामाजिक परिचालक नारयणकुमार आठपहरियाले बताएका छन् । वर्षौंदेखि टुकी बालेर जीवन गुजारा गर्दै आएका धनकुटा नगरपालिका वडा नंं.८ स्थित जलदेवी टोलका रसकुमार आठपहरियाले भने, ‘के गर्ने विकास गरिदिन्छौं भन्दै भोट माग्ने त धेरै आए, तर आजसम्म आफ्ना छोराछारीहरुले विजुली बत्तीको उज्यालोमा बसेर पढ्न पाएका छैनन् ।’