भद्रपुर । झापामा सवारी दुर्घटनामा परी ३ सय ४२ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । गत चार वर्षको अवधिमा विभिन्न स्थानमा सवारी दुर्घटना परी ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यो तथ्याङ्क आर्थिक वर्ष ०७१/७२ देखि गत आर्थिक वर्ष ०७४/७५ सम्मको हो । सवारी दुर्घटनामा ०७१/७२ मा ७३ जना ०७२/७३ मा ७५ जना, ०७३/७४मा ८३ र ०७४/७५ मा १०९ जनाको मृत्यु भएको झापाका एसपी विष्णुकुमार केसीले जनाए । सोही अवधिमा सवारी भवितव्यमा परी १६ जनाको समेत मृत्यु भएको एसपी केसीको भनाइ छ । जिल्लामा देखिएको तथ्याङ्कअनुसार सवारी दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या बर्सेनी वृद्धि भइरहेको छ । दुर्घटना बढ्न थालेपछि प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले संयुक्त रूपमा दैनिक सवारी चेकजाँचलाई तीव्रता दिएको जनाएको छ । सवारीसाधनको गति मापन गर्न प्रहरीले राजमार्ग र सहायक राजमार्गमा राडर गनको प्रयोग गरी चेकजाँच थालिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी आत्महत्या, जबरजस्ती करणी, कर्तव्य ज्यान, भवितव्य ज्यान, लागुऔषध, चोरी, सवारी ज्यान, मानव बेचविखन, सार्वजनिक मुद्दाका घटनाहरू बढी दर्ता हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कर्तव्य ज्यानमा १३ ओटा, ज्यान मार्ने उद्योगमा २३, चोरीमा ५२, लागूऔषधमा १ सय २६, सार्वजनिक अपराधमा ६ सय ७५, मानव बेचविखनमा २७, बहुविवाहमा २५, ठगीमा २०, जुवामा ९ र अपहरण शरीर बन्धक तथा सरकारी छाप किर्तेमा ६ मुद्दा दर्ता भएको जनाइएको छ । बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालका कारण बलात्कारका घटनामा पनि वृद्धि हुन थालेको एसपी केसी बताउँछन् । युवा युवती आफैँ सजग भएमात्र यस्ता प्रकृतिका घटना बन्द हुने उनको भनाइ छ