तेह्रथुम । छथर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने भएको छ । गाउँपालिकाले देशमै पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने भएको हो । देशका कुनै पनि स्थानीय तहले प्रधानमन्त्रीको सम्मान स्वरूप ठोस काम नगरेकाले छथरगाँउ पालिकाले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने लल्यका साथ अगाडि बढेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । गाउँपालिकाको आर्थिक वर्ष ०७५÷७६ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी १० लाख बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष तिगेलाले बताए । पार्कमा हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिने अध्यक्ष तिगेलाले जानकारी दिए । गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष १० लाख बजेट विनियोजन गरि सकेकाले पार्क निर्माणका लागि पहिलो वर्ष डीपीआर तयार गरी काम सुरु गरिने भएको छ । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भए पनि यस्तो प्रकृतिको ऐतिहासिक पार्क अन्यत्र नभएकाले पार्क निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष तिगेलाले बताए । गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्ड्रेन पार्क, शहीद पार्क र भ्यू–पार्क निर्माणलगायतका योजनाका लागि ९० लाख विनियोजन गरेको छ ।