पानवारी । स्तनपान सप्ताह २०१८ को अवसरमा धरान उपमहानगरपालिका र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा धरान उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत घनश्याम सिग्देलले स्तनपानको महत्वबारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा स्तनपानको महत्व, स्तनपान गराउँदा शिशु तथा आमालाई पुग्ने फाइदा र स्तनपान नगराउँदा शिशुलाई हुने जोखिम तथा आमालाई हुने जोखिमका बारेमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा स्तनपानको महत्वबारे प्रकाश पार्दै स्वास्थ्य अधिकृत सिग्देलले ६ महिनाको शिशुलाई आमाको दुध मात्रै खुवाउनु पर्ने र ६ महिना पश्चात आमाको दुधका साथै सन्तुलित खाना खुवाउनुपर्ने बताएका थिए ।
उनले पूर्ण रुपमा स्तनपान गराउदा शिशुको रोग प्रति रोधात्मक क्षमता धेरै हुने, शिशु स्वस्थ हुने तथा हरेक हिसाबले शिशुको शारिरीक तथा मानसिक विकास हुने बताएका थिए । उनले स्तनपान गराउँदा आमालाई समेत स्तन तथा पाठेघरको क्यान्सर हुने सम्भावना कम हुने र जन्मान्तर समेत बढाउन सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख खगेन्द्र खतिवडाले आमाको दुध खान पाउनु शिशुको पहिलो अधिकार भएको भन्दै धरान बालमैत्री नगर घोषणा हुने चरणमा रहेकोले बालमैत्री नगरको लागी चाहिने एक सुचकको रुपमा स्तनपान समेत रहेको बताएका थिए ।
उपमानगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरे, सामाजिक विकास महाशाखा प्रमुख गणेश खतिवडा, स्वास्थ्य अधिकृत घनश्याम सिग्देल लगायत धरानका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।