भद्रपुर । सघन शहरी विकास र नगरपालिकामार्फत् निर्माणाधीन सडक रोकिएपछि आवत–जावत ठप्प भएको छ । झापाको भद्रपुर नगरपालिका क्षेत्रभित्र निर्माण शुरु गरिएका अधिकांश सडकमा वर्षाको समयमा आवत–जावतमा समस्या आएको हो । भद्रपुर वडा नं. ७ चन्द्रगढी लेखनाथ चोकबाट दुई किलोमिटरको दूरीमा रहेको काली मन्दिर टोल आउने तीनवटा बाटोबाट एक महिनायता आवत–जावत बन्द भएको छ । डाँफे चिया उद्योग उत्तर काली मन्दिरहुँदै रेवतीरमण कोइरालाको घरछेउदेखि भरत खतिवडाको घरसम्मको बाटोमध्ये अनुमानित दुईसय मिटरको कच्ची सडकमा पानी जमेर आवत–जावतमा समस्या भएको छ । सडक बन्द भएपछि पचासौं घरका सयौं बासिन्दा प्रभावित बनेका छन् । स्कुल बस नचलेका कारण विद्यार्थी समस्यामा परेका छन् । नगरपालिकाले हेर्दै आएको सोही वडाको दशरथ दुलाल मार्गको अवस्था पनि उस्तै रहेको छ । एक महिनायतादेखि सडक अवरुद्ध भए पनि मेयर र वडाअध्यक्षलगायतले वास्ता नगरेको राप्रपा भद्रपुर नगरसचिव हरि कोइरालाले आरोप लगाए । बाटो नचलेका कारण एम्बुलेन्स समेत आउन नसकेको उनको गुनासो छ । जनप्रतिनिधिहरू तलब थाप्न तथा निजी कार्यमा व्यस्त भएकोले यसतर्फ कसैको ध्यान नगएको उनले बताए । जनप्रतिनिधिको चरम लापरबाहीले जनताले कष्टपूर्र्ण सहन गर्न बाध्य पारेको उनको भनाइ छ । सडकबाट आवत–जावतमा समस्या बढ्दै गएपछि वडाअध्यक्ष मार्फत् नगरपालिकाको अधीनमा रहेको सडकमा बालुवा हालेर झारा टार्ने काम गरेको कोइरालाको भनाइ छ । सामाजिक सञ्जालमा चर्को विरोध आएपछि वडा कार्यालयको ध्यान केन्द्रित भएको थियो । सडक अवरुद्ध भएका कारण नानीहरुलाई स्कुल पठाउन समस्या भएको स्थानीय सुरेश खनालले बताए । पीडित स्थानीयले वडाअध्यक्षलाई दबाव दिएपछि बालुवा हाल्ने काम भएको उनले जनाए । अवरुद्ध भएका स्थानमा तत्काललाई बालुवा हालेर सहज बनाउने काम शुरु भएको वडाअध्यक्ष विनोद पोखरेलले जनाए । नदीमा बालुवा उत्खनन् गर्न नपाएकोले समस्या आएको उल्लेख गर्दै भनसुन गरेर भए पनि आइतबारबाट काम अगाडि बढाइएको उनको भनाइ छ । सघन शहरीको सडकमा ठेकदारलाई जानकारी गराइसकेकोले बालुवा हालिदिने भनिसकेको उनले जनाए । वर्षाको समयमा सवारी चालकलाई बिदा गरिएकोले सोही क्षेत्रका सवारी धनीमार्फत् बालुवा लगाउने काम भएको गजुरमुखी ठेकेदार कम्पनीका कर्मचारी रुद्र काफ्लेले जानकारी दिए । जिम्मा लिएको बाटोमा सहज बनाउन आवश्यक बालुवा हालिएको उनले बताए ।