यासोक । उन्नति परियोजनाले समयमा योजना स्वीकृत नर्गदा पाँचथर उत्तरे–यासोक सडक खण्ड अलपत्र परेको छ । उपभोक्ता समितिलाई आर्थिक वर्ष २०७४/७५ को अन्त्यतिर मात्रै योजना स्वीकृत गरेका कारण सडकको स्तरोन्नति अलपत्र परेको हो । परियोजनाले हतार–हतार असारमा मात्रै उपभोक्ता समितिमार्फत् काम गराएपछि निर्धारित १६ किलोमिटर सडक खण्डको काम सम्पन्न हुन सकेन । डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले चार करोडको लगानीमा निर्माण भइरहेको थियो । समितिलाई पनि सम्पन्न भएको सडकको रकम मात्रै भुक्तानी गरिएको छ । जसले गर्दा थप काम हुन सकेको छैन । समितिले सडकको स्तरोन्नति गर्ने कार्यको जिम्मा जेठ २७ गतेबाट असार १५ गतेसम्मका लागि मात्रै प्राप्त गरेको थियो । अहिले योजना अधुरै रहेको छ । समितिले ६० प्रतिशत काम सम्पन्न गरेको छ भने बाँकी काम हुन सकेको छैन् । चारकरोड रकममध्ये समितिलाई १ करोड ७४ लाख १ हजार ४८७ रुपैयाँ भुक्तानी दिएको छ । सडक पूर्ण रूपमा सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । पाँचथर जिल्लामा मात्रै डेनमार्क सरकारको सहयोगमा ४५ करोड, ११ लाख, ५६ हजार ५५० रुपैयाँको भौतिक पूर्वाधारको काम हुँदै आएको छ । ठेकेदार र उपभोक्ता समितिमार्फत् भएका १४ ओटा आयोजनामध्ये चार ओटा योजनामात्रै समयमै सम्पन्न भएका छन् । बाँकी १० ओटा योजना अलपत्र अवस्थामा छन् । १४ ओटा आयोजनामध्ये ७९ दशमलव १० प्रतिशत काम सम्पन्न भएको परियोजनाले जनाएको छ । बाँकी रहेको ३१ प्रतिशत काम अघि बढाउने या नबढाउने भन्ने विषयमा डेनमार्क सरकारसँगको छलफलपछि मात्रै थाहा हुने उन्नति परियोजनाले जनाएको छ । जसका लागि तीनओटा निर्माण कम्पनी र ११ उपभोक्ता समितिले काम गर्दै आएको छ । हालसम्म २९ करोड ७५ लाख ७२ हजार ३०६ रुपैयाँको काम सम्पन्न भएको छ ।