उदयपुर/ त्रियुगा नगरपालिका–११ मा अवस्थित श्रमिक पार्क संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ । सौन्दर्यताले भरिपूर्ण जिल्लाकै गहनाको रूपमा त्रियुगा नगरपालिकाद्वारा नौ वर्ष अघि परिकल्पना गरी निमार्ण सुरु गरिएको पार्क उचित संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको हो । पार्कका परिकल्पनाकार तथा कलाकार विक्रमश्रिलगायत विभिन्न कलाकारहरूले बेकामे पाखालाई आकर्षक र रमणीय पार्कमा परिणत गरेका थिए । पार्कका मूर्तीकृतिहरू अपहेलित अवस्थामा पाउँदा मन दुखेको कलाकार विक्रमश्रिले बताए । संरक्षण नहुँदा मूर्तीकृतिहरूमा लेउ पलाएको, हराएको र टुटफुट भएको अवस्थामा छ । पार्कलाई सजिसजाउ पार्न विभिन्न उन्नत र आकर्षक बोटविरुवा लेकाली सल्लो, छडीबाँसदेखि तराईका चिराइतोसमेत रोपिएको थियो । पार्क क्षेत्रमा सरसफाइ नहुँदा फोहोरको डङ्गुर थुप्रिएको छ भने बोटविरुवाको गोडमेल र संरक्षण नहुँदा झाडी बन्दै गएको कलाकार विक्रश्रिले बताए । उक्त पार्कमा मुख्य आकर्षकको रुपमा श्रमिक बुद्धको मूर्ति निर्माण गरिएको हो । बुद्धले आफ्नाे मूर्ति आफैँ खोप्दै गरेको झलक दिने मूर्तिबाट बुद्धको ज्ञान र माक्र्सको सीपसँग तुलना गरिएको छ । श्रम र ज्ञान एक साथ भएमात्र हरेक कुराले पूर्णता पाउने चेतना छर्न निर्माण गरिएको मूर्तिको आकर्षण हराउँदै गएको कलाकार श्रिले बताए । कुम्हाले, शिवपर्वत, पँधेरा, जाँतो, खोल्सी, पुल खास आकर्षणका केन्द्र रहेको पार्कलाई नगरपालिकाको हेलचेक्राइँको कारण झन्झन् ओझेलमा पर्दै गएको छ । उदयपुरकै गौरवका रूपमा डिजाइन गरिएको पार्क जीर्ण बन्दै गएको छ । संरक्षणको नाममा एक पुजारीमात्र रहेका छन् । पछिल्लो समयमा नगरपालिकाले केही चासो देखाई पार्कको गेट निर्माणलगायतका काम गरे पनि पूर्णता नपाउँदा लाखौँ लगानी भइसकेको पार्क आम्दानीको स्रोत बन्न नसकेको स्थानीयको बुझाइ छ । पार्क निर्माणको काम पूरा नभएको भन्दै दिउँसो प्रवेशमा रोक लगाइएको छ । पुजारी एक्लैले पूजापाठ र सिङ्गो पार्कको हेरचाह गर्नु पर्ने भएकाले गाह्रो परेको पुजारी हरि पराजुलीले बताए ।