भद्रपुर/सघन शहरी विकास र नगरपालिका मार्फत निर्माणाधीन सडक राकिएपछि आवत जावत ठप्प भएको छ । झापाको भद्रपुर नगरपालिका क्षेत्रभित्र निर्माण शुरु गरिएका अधिकांश सडक वर्षाको समयमा आवत जावतमा समस्या आएको हो । भद्रपुर वडा ७ चन्द्रगढी लेखनाथ चोकबाट दुई किलोमिटरको दुरीमा रहेको काली मन्दिर टोल आउने तिन वटा बाटोबाट एक महिना यता आवत-जावत बन्द भएको छ । डाँफे चिया उद्योग उत्तर काली मन्दीर हुदै रेवतीरमण कोइरालाको घर छेउदेखि भरत खतिवडाको घरसम्मको बाटो मध्ये अनुमानित दुइसय मीटरको कच्ची सडकमा पानी जमेर आवत जावतमा समस्या भएको छ । सडक बन्द भएपछि पचासौं घरका सयौं बासिन्दा प्रभावित बनेका छन् । स्कुल बस नचलेका कारण विद्यार्थी समस्यामा परेका छन् । नगरपालिकाले हेर्दै आएको सोही वडाको दशरथ दुलाल मार्गको अवस्था पनि उस्तै रहेको छ । एक महिना यतादेखि सडक अबरुद्ध भएपनि मेयर र वडा अध्यक्ष लगायतले वास्ता नगरेको राप्रपा भद्रपुर नगर सचिव हरि कोइरालाले आरोप लगाए । बाटो नचलेका कारण एम्बुलेन्स समेत आउन नसकेको उनको भनाइ छ । जनप्रतिनिधीहरू तलब थाप्न तथा निजी कार्यमा व्यस्त भएकोले यसतर्फ कसैको ध्यान नगएको उनले बताए । जनप्रतिनिधिको चरम लापरबाहीले जनताले कष्टपूर्र्ण सहन गर्न वाध्य पारेको उनको भनाइ छ । सडकबाट आवत जावतमा समस्या बढदै गएपछि वडा अध्यक्ष मार्फत नगरपालिकाको अधिनमा रहेको सडकमा बालुवा हालेर झारो टार्ने काम गरेको कोइरालाको भनाई छ । सामाजिक सञ्जालमा चर्को बिरोध आएपछि वडा कार्यालयको ध्यान केन्द्रित भएको थियो । सडक अवरोध भएका कारण नानीहरुलाई स्कुल पठाउन समस्या भएको स्थानीय सुरेश खनालले बताए । पीडित स्थानीयले वडा अध्यक्षलाई दबाव दिएपछि बालुवा हाल्ने काम भएको उनले जनाए । अवरोध भएका स्थानमा तत्काललाई बालुवा हालेर सहज बनाउने काम सुरू भएको वडा अध्यक्ष विनोद पोखरेलले जनाए । नदीमा बालुवा उत्खनन गर्न नपाएकोले समस्या आएको उल्लेख गर्दै भनसुन गरेर भएपनि आइतबारबाट काम अगाडी बढाइएको उनको भनाइ छ । सघन शहरीको सडकमा ठेकदारलाई जानकारी गराइसकेकोले बालुवा हालिदिने भनिसकेको उनले जनाए । वर्षाको समयमा सवारी चालकलाई विदा गरिएकोले सोही क्षेत्रका सवारी धनी मार्फत बालुवा लगाउने काम भएको गजुरमुखी ठेकदार कम्पनीका कर्मचारी रुद्र काफ्लेले जानकारी दिए । जिम्मा लिएको बाटोमा सहज बनाउन आवश्यक बालुवा हालिएको उनले बताए ।