विर्तामोड/ श्रीमतीको इच्छा विपरित यौन सम्पर्क राख्ने झापा विर्तामोडका २७ वर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । गत साउन १० गते पहिलो पटक म्याद थप गरे पनि ढिलो गरि यो घट्ना सार्वजनिक भएको हो ।

२२ वर्षिया श्रीमतीको उजुरीका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बितामोडका डिएसपी कृष्ण कोइरालाले जानकारी दिए । श्रीमानले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएको जानकारी उनले दिएका छन् ।

विवाह भएको दुई वर्षपछि ती महिलाले श्रीमानविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता गरेकी हुन् । प्रहरीका अनुसार ती महिलाले श्रीमान् धेर जसो बाहिर जाने र घर आएका बेला आफ्नो इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उजुरीमा उल्लेख गरेकी छिन् ।  कानुनले श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौनसम्बन्धलाई वैवाहिक बलात्कार मानेको छ ।

यता अर्जुनधारा नगरपालिका वडा नम्बर २ खुदुनावारीमा चारवर्षकी नाबालिकामाथि बलात्कार गरेको अभियोगमा सोही ठाँउका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।साउन १६ गते घरमा कोही नभएको मौका पारेर अभियुक्तले नातामा आफन्त पर्ने बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाकी आमा धान रोप्न खेतमा गएको मौका पारेर अभियुक्तले बलात्कार गरेको डिएसपी कोइरालाले बताए ।

पीडितकी आमाले अभियुक्तलाई नै नानी हेर्दिनु भनेर घरमा छोडेको अवस्थामा बालिका बलात्कारको शिकार भएकी थिइन् ।  बलात्कारको घटनापछि बालिकाको बितामोडस्थित मनमोहन हस्पिटलमा प्राथमिक उपचार गरी मेची अञ्चल अस्पतालमा थप उपचार गरिएको थियो । घटनापछि आरोपी फरार भएका थिए ।

प्रहरीले ६ दिनपछि अभियुक्तलाई खुदुनावारीमै लुकिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले अभियुक्तमाथि जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसंधान गरेको जनाएको छ ।