उर्लाबारी । ठेकेदारको चरम लापरबाहीका कारण तीन वर्षअघि सम्पन्न हुनुपर्ने सडकको अझै ४० प्रतिशत काम अधुरै रहेको छ । ठेकेदार कम्पनीले निर्माण शुरु गरेको ६ वर्ष बितिसक्दा पनि अझै काम सम्पन्न गर्न नसकेको हो । १२ दशमलव ४ किलोमिटर लम्बाइ रहेको उक्त सडक अहिले पनि ४० प्रतिशत काम हुन बाँकी छ । उर्लाबारी–तोरीबारी सडक–खण्डमा पर्ने उक्त सडक उर्लाबारीको व्यापारिक सडकको रूपमा रहेको छ । सडक निर्माणको ठेक्का पाएको ज्योति–प्रेरा कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०७२ जेठ ४ गतेसम्ममा सडक निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्धारित समयमा सम्पन्न नभएपछि स्थानीय आक्रोसित बनेका छन् । स्थानीयले निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने निर्माण अनुगमन समितिका संयोजक ललित अधिकारीले माग गरे । उनले सम्बन्धित निकायले उक्त ठेकेदार कम्पनीलाई कारबाही गर्न माग गरेका हुन् । नेपाल सरकार भौतिक योजना मन्त्रालय अन्तर्गत २०६७ सालमा स्वीकृत भएको थियो । ८ करोड ९४ लाख रुपैया“को लागतमा बनेको सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सम्झौता भएको दुई वर्षपछि मात्रै निर्माण शुरु गरेको सडक निर्माण पहल समितिका संयोजक मानबहादुर श्रेष्ठले बताए । तीन वर्षअघि निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नु पर्ने भए पनि हालसम्म ६० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय मोरङका ओभरसियर कौशल यादवले बताए । निर्धारित समयमा निर्माण सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीलाई स्थानीयले दुई पटक दबाव दिएपछि काम शुरु गरे पनि ४० प्रतिशत निर्माण हुन बाँकी रहेको संयोजक श्रेष्ठ बताउँछन् । श्रेष्ठले पटक–पटक डिभिजन कार्यालय, मन्त्रालय र निर्माण कम्पनीका सञ्चालकलाई कारबाही गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको बताए । उनले कम्पनीको भुक्तानी रोक्दै कालोसूचीमा राख्नका लागि माग गरेको बताए । तर सरकारले आफ्ना मागप्रति चासो नदेखाएको श्रेष्ठले गुनासो गरे । पुनः बाँकी रहेको सडकका लागि दबाव दिन आन्दोलन गर्ने उनले बताए । उर्लाबारी नगरका मेयर खड्ग फागोले सडक निर्माणका लागि दुईपटक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा लिखित रूपमा पत्रचार गर्दा प्रत्युत्तर नआएको बताए । मेयर फागोले नागरिकको प्रत्यक्ष सरोकार भएको सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही नगर्नु आश्चर्यजनक भएको बताए । उनले ४० प्रतिशत तत्काल नयाँ कम्पनीलाई नदिँदा बनेको सडक पनि भत्किएको बताए । सो सडक निर्माण भएपछि मोरङको मिक्लाजुङ गाउ“पालिका, पश्चिम इलामको चुलाचुली, चिसापानी, फुएँतप्पा, आमचौक, कुरुम्बा, साक्फारा, फुङ्नाम तथा पूर्वी पाँचथरबासी लाभान्वित हुन्छन् । उक्त सडक निर्माण भएपछि उर्लाबारीमा व्यापारिक चहल–पहल बढ्ने उर्लाबारी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तारामान सिरेङले बताए । निर्माण कम्पनीका सञ्चालक राजकिशोर यादवसँग टेलिफोनमा सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन ।