फाइल तस्बिर
सिरहा । भन्सार कार्यालय माडर सिराहाका भन्सार कर्मचारी, सशस्त्र प्रहरीबीच ‘सेटिङ’ नमिल्दा भन्सार काटेर ल्याएका सामान प्रहरीले पक्राउ गरेको छ । भन्सार तिरेर स. ७ च ५७८४ नम्बरको पिकअप भ्यानमा भिœयाइएको सामग्री सेटिङ नमिल्दा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेपछि उक्त घटना बाहिरिएको हो । पिकअपमा सत्यम् शिवम् जेनरल सप्लायर्स सिरहाका व्यवसायी ललन यादव र रामनारायण महासेठले ८ पोका कपडा भिœयाएका थिए । व्यापारीहरुले दुई वटा प्रज्ञापनबाट भन्सारलाई १ लाख १६ हजार ८ सय १९ रुपैयाँ राजश्व तिरेको देखिन्छ । प्रज्ञापन नम्बर एम १३०२ बाट २१३२८ र एम १२९९ बाट ९५१९१ रकम तिरेको व्यापारी महासेठले बताए । प्रज्ञापनबाट राजश्व तिरेका उक्त पिकअप भ्यानलाई सशस्त्र प्रहरीले चेकजाँच गरी जाँचपास गरेको महासेठले बताए । तर त्यस त्यो पिकअप भ्यान १ सय मिटर दूरी नकाट्दै सशस्त्र प्रहरी निरीक्षक खड्ग बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उनले बताए । प्रहरी निरिक्षक बस्नेतले भने, ‘राजश्व काटेको छ ? हामीलाई सूचना आयो । गाडी नियन्त्रणमा लिएर इटहरी पठाउँदैछौं ।’ सशस्त्र प्रहरी निरीक्षक सञ्जय रेग्मीले रकम माग गरेको तर नदिएपछि सामान पक्राउ गर्न लगाएको उनीहरुको आरोप छ । व्यापारी रामनारायणले भने, ‘पटक–पटक पैसा माग्यो तर दिइनँ । हप्तादिनमै पैसा माग्न थाल्यो । सही तरिकाले सामान ल्याउँदा किन पैसा दिनुप¥यो ? नदिएकाले जिल्लाबाट प्रहरी बोलाएर सामान पक्राउ गरायो ।’ समान भन्सारबाट बाहिर ल्याउन पनि प्रहरी निरीक्षक रेग्मीले पैसाकै कारण २ घण्टा रोकेको अर्का व्यापारी ललनकुमार यादवले बताए । उनले भने, ‘सामानको सही मूल्याङ्कन गरी भन्सार तिरेको छु । अनि किन प्रहरीलाई पैसा दिनु ?’ व्यापारीको आरोपका विषयमा प्रहरी निरीक्षक रेग्मीले निराधार आरोप रहेको बताए । ‘मैले किन रकम माग्नु ? भन्सार रकम नतिरेको आशङ्का लागेर थप टोली आएर सामान समातेको हो’–उनले भने ।