तेह्रथुम । जिल्लाको दुई गाउँपालिका र सदरमुकाम म्याङलुङ जोड्ने ऐतिहासिक खोरूङ्गा खोलामा रहेको झोलुङ्गे पुल जीर्ण भएको छ । दुई गाउँपालिका फेदाप र आठराई गाउँपालिका जोड्ने ऐतिहासिक झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयबासीहरूलाई समस्या भएको हो । म्याङलुङ नगरपालिकाको शाब्ला र फेदाप गाउँपालिकाको ओयाक्जुङ जोडिने झोलुङ्गे पुलबाट मोटरसाइकल समेत आवतजावतमा समस्या छ । वर्षात्मात्र होइन बाह्रै महिना यो झोलुङ्गे पुलबाट स्थानीयबासीले जोखिम मोलेरै मोटरसाइकल तार्ने गरेको म्याङलुङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र तामाङले बताए । उनका अनुसार यहाँबाट मोटरसाइकल तार्न जोखिम हुने गरेको छ । खोलामा मोटरसाइकल तार्न पानीको बहावले समस्या हुने भएकोले यहाँबाट दैनिक दुईदर्जन बढी मोटरसाइकल वारिपारी गर्ने गरेको स्थानीय बमबहादुर लिम्बूले बताए । उनका अनुसार यात्रु यहाँ दुर्घटनामा समेत परिसकेका छन् । गोरेटो बाटोसँगै साँघुरो झोलुङ्गे पुलमा केही मोटरसाइकल अड्किएर सवारी चालकसमेत घाइते भएका थिए । झोलुङ्गे पुलमा मोटरसाइकल हिँडाउँदा यहाँ राखिएको काठ समेत मक्किएर जोखिम बढेको फेदाप गाउँपालिका ३ का इन्द्र नेपालीले बताए । पुलको छेऊमा राखिएको जाली समेत च्यातिएकोले यहाँ हिँड्ने बटुवा जोखिममा छन् । यसअघि जिल्ला विकास समिति तेह्रथुमले पुल हेरालुको व्यवस्था गरेर रेखदेख गर्दै आएपनि अहिले पुल हेरालुको बारेमा स्थानीय सरकारले चासो नदिँदा पुल दिनप्रतिदिन पुरानो हँुदै गएको स्थानीयले बताएका छन् । साविकका १२ वटा गाविसका जनता सदरमुकाम म्याङलुङ आउँदा हिँड्ने पुल करिब ३ दशकअघि निर्माण गरिएको हो । मध्य पहाडी लोक मार्ग अन्र्तगत खोरुङ्गा खोलामा अहिलेसम्म पुल बन्ने सुरसार समेत नहुँदा खोलामा पानीको बहाब बढेसँगै ९ महिनामात्र सवारी साधन चल्ने गरेको यातायात व्यवसायीले बताएका छन् । सुख्खा मौसममा म्याङलुङदेखि आठराईको संक्रान्ति हुँदै फिदिमसम्म सवारी साधन चल्ने गरे पनि खोलामा पानीको बहाब बढेपछि सवारी साधन बन्द हुने गरेको ट्याक्सी व्यवसायी सङ्घ तेह्रथुमका इञ्चार्ज सन्तोष निङ्लेखुले बताए ।