इटहरी  । लामो समयदेखि लाइसेन्स (चालक अनुमति–पत्र) बिनै सवारी चलाउनुपरेको हेभी अपरेटरहरुले गुनासो गरेका छन् । हेभी इक्युप्मेन्ट अपरेटरहरुले सरकारको हेल्चेक्र्याइँकै कारण लामो समयदेखि हेभी इक्युप्मेन्ट चलाउँदै आएकाहरुले लाइसेन्स नपाएको भन्दै देशभर आन्दोलन गर्ने तयारी गरेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब सुनसरीमा साक्षात्कार कार्यक्रम गर्दै हेभी इक्युप्मेन्ट अपरेटर सङ्घले बिना लाइसेन्स विकास निर्माणको काम गर्ने ठूला सवारीहरु समस्यामा परेको बताएका छन् । अपरेटर सङ्घका केन्द्रीय अध्यक्ष लोकमान खत्रीले देशभर २५ हजार हेभी साधन लाइसेन्स बिनै चलाउन बाध्य भएको भन्दै सरकारले लाइसेन्स नखुलाए देशभर आन्दोलन गरिने जनाए । देशभर स्काभेटर, ग्रेडर, लोडरलगायतका सवारी चलाउनेहरु अहिले समस्यामा परेको उनको भनाइ थियो । सरकारले अहिलेसम्म अपरेटर भनेर लाइसेन्स नखुलाउँदा अपरेटरहरु मारमा परेको अध्यक्ष खत्रीको भनाइ छ । २०५१ सालदेखि अपरेटरको काम गर्दै आएको बताउने खत्रीले सरकारले लाइसेन्स वितरणमा खेलाँची गरेको आरोप लगाए । भदौ ७ गतेसम्म लाइसेन्स नखुलाए सिंहदरबार घेर्ने उनीहरुले चेतावनी दिएका छन् । सङ्घका केन्द्रीय उपाध्यक्ष गोकुल कुँवरले लाइसेन्स वितरण गर्न सरकार उदासिन देखिएको उनको आरोप छ । देशभर आन्दोलनको तयारी गर्ने तयारी रहेको एक नम्बर प्रदेशका संयोजक प्रकाश वलीले बताए । ‘लाइसेन्स नहुँदा अपरेटरहरुको मृत्यु हुँदा पनि उनीहरुलाई सहचालक बनाउनुपरेको छ’–उनले भने ।