रङ्गेली । बाढी पीडितको रकम फ्रिज भएपछि मोरङको कटहरी गाउँपालिकालाई तनाव भएको छ । फुर्सद्मा वितरण गर्ने भन्दाभन्दै रकम नै फ्रिज भएपछि गाउँपालिका स्थानीय निकायसँग हारगुहार गर्न पुगेको छ । बाढी पीडितहरूले रकम नपाएपछि सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रेपछि गाउँपालिकाले फ्रिज भएको रकम फेरि स्वीकृत गराएर वितरण गर्न सम्बन्धित निकायसँग पहल थालेको छ । ‘गाउँपालिकाबाट बाढी पीडितका लागि आएको रकम दुरासाय ढङ्गले वितरण नगरेको होइन ।’ गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आइतबार पत्रकार सम्मेलनमा भने । समन्वयको कमीले गर्दा साउनमा वितरण गर्दा सबै पक्षलाई सजिलो हुने मनासयले वितरण नगरेको उनले बताए । रकम पुनः निकासा गराई वितरण गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष कामतको भनाइ छ । २०७४ साउन २७ गतेको बाढीले गाउँपालिकाका १५ सय १७ घर पूर्णरूपले क्षति भएका थिए । जसमा २२ सय ७५ परिवार तत्कालका लागि विस्थापित भएको गाउँपालिकाले जनाएको छ । त्यतिबेला सङ्घीय सरकारबाट बाढी पीडितका लागि आएको ५० लाखबाट दैनिक ७० रुपैयाँका दरले ४५ लाख २९ हजार ७ सय वितरण गरेको अध्यक्ष कामतले जानकारी दिए । २०७४ साउन २७ गतेको मन्त्री परिषद्को निर्णयबाट घर मर्मत र लत्ताकपडाका लागि प्रतिपरिवार २५ हजार उपलब्ध गराउने भनी आएको ३ करोड ७९ लाख २५ हजार गाउँपालिकाले समयमा वितरण नगर्दा फ्रिज भएको थियो ।