विराटनगर/मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने ‘कोलिफर्म’ कीटाणु भेटिएको पानी खुलेआम बिक्री भइरहेको पाइएको छ । त्यसमा सम्बन्धित निकायले कारवाही गर्न कुनै पहल थालेको पाइँदैन ।  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ल्याव परीक्षण गर्दा ११ वटा उद्योगको प्रशोधित पानीमा कोलिफर्म भेटिएको थियो । कोलिफर्म भेटिएका अधिकांश उद्योगको पानी हाल पनि विराटनगरका बजारमा छ्यापछ्याप्ती भेटिने गरेका छन् । बजार अनुगमनमा सम्बन्धित निकाय मौन देखिएको छ । विराटनगरको १० वटा र मोरङको बूढीगङ्गा गाउँपालिकाको एक गरी ११ उद्योगमा कोलिफर्म भेटिएको थियो । किशनकुमार रायद्वारा सञ्चालित श्री जल उद्योगको ‘सूर्य जल’, रामप्रसाद साहद्वारा सञ्चालित शीतलजल उद्योगको ‘शीतल जल’, पङ्कज कर्णद्वारा सञ्चालित जोनसनजल उद्योगको ‘जोनसन अक्वा’ पानीमा कोलिफर्म फेला परेको हो । अहिले पनि बजारमा खुलेआम बिक्री भइरहेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए । त्यस्तै रामविलास साहद्वारा सञ्चालित तिरुपतिजल उद्योगको ‘श्रीजल’, रामविलास साहको पूजाफूड एण्ड वेभरेज प्रालिको ‘क्वा पूजा’, सुमित साहको माउण्टेन वाटर उद्योगको ‘माउण्टेन’ पानी बजारमा भेटिने गरेका छन् । डिम्पल शर्माको दिव्यश्री जल उद्योगको ‘इभान एचटु’, सुरेन्द्र लगरवारको शुभजल उद्योगको ‘शुभजल’ पानी पनि खुलेआम बिक्री भइरहेका छन् । ‘कोलिफर्म देखिएका उद्योगको पानी अहिले पनि बजारमा छ्यापछ्याप्ती देखिन्छ’ अध्यक्ष ढुङ्गेलले भने, ‘नियमनकारी निकायले जफत नगर्दा कोलिफर्म भएको पानी बिक्री वितरण भइरहेको छ । स्वास्थ्यलाई असर गर्ने यस्तो पानी तत्काल जफत गरी नष्ट गर्नु पर्दछ ।’ कोलिफर्म देखिएका ११ उद्योगमध्ये ९ वटा उद्योगको पानी हाल बजारमा भेटिने गरेको छ । तीनवटा उद्योग यसअघि नै अनुगमनको क्रममा अनुज्ञापत्र बेगर सञ्चालित भएकाले सिलबन्दी गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण र वाणिज्य कार्यालयलाई बजार अनुगमन गरी कोलिफर्म भएको पानी जफत गर्न निर्देशन दिएको बताए । गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले कोलिफर्म देखिएको उद्योगको पानी उत्पादन गर्न अहिले रोक लगाएको बताए । उनले भने, ‘बजारमा गएको कोलिफर्म भएको पानी सम्बन्धित उद्योगलाई फिर्ता ल्याउन मौखिक जानकारी गराएको छौं ।’ जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोलिफर्म भेटिएको उद्योगको पानी तत्काल नष्ट गर्नुपर्ने बताए । तर, कसरी ? त्यसको उचित जवाफ दिएनन् । कोलिफर्म भएको पानी पिउनाले ज्यानै जानसक्नेसम्मको खतरा हुने चिकित्सकहरुले औंल्याएका छन् ।