इनरुवा । यहाँस्थित इनरुवा अस्पतालको १९ लाखभन्दा बढी रकम कर्मचारीले हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । बिरामीले तिरेको रकम ‘इन्ट्री’ गर्ने कर्मचारीले बैङ्क दाखिला गर्नुपर्ने रकम दाखिला नगरी आफैले खर्च गरेको पाइएको हो । अस्पतालको आम्दानी १९ लाख ३९ हजार ५ सय ५६ रुपैयाँ कर्मचारीले आफ्नो गोजीमा हालेको पाइएको छ ।

हिनामिना गरिएको रकम फिर्ता गर्नुको सट्टा कम्प्युटर सिस्टममा राखिने ‘डाटा इन्ट्री’ नै मेटाएर मिलिभगत गरेको भेटिएको छ । मिलिभगत गरी खर्च गर्ने कर्मचारी अधिकांश करारका हुन् । अस्पतालको आम्दानी बैङ्क दाखिल नगरी आफूखुसी चलाएपछि अस्पताल प्रशासन भने आर्थिक भार खेप्नु परेको छ । इनरुवा अस्पतालमा ५ जनाले बिल काट्ने गरेका छन् । पाँचैजना कर्मचारीले फरक– फरक ‘युजर आइडी’ प्रयोग गर्ने गरेका छन् । सबैले सङ्कलित रकम अस्पतालको खातामा जम्मा गर्नुको सट्टा आफैले चलाउने गरेको पाइएको अस्पताल प्रशासनले जनाएको छ । करार कर्मचारी अजय प्रधानले ३ लाख ६९ हजार ५ सय २१ रुपैयाँ, कविता पोद्दारले ४ लाख ९१ हजार ८ सय ३ रुपैयाँ, सरू भट्टराईले १३ हजार ६ सय ९७ रुपैयाँ र विकेश श्रेष्ठले असार मसान्तयता १० लाख ६४ हजार ५ सय ३५ रुपैयाँ चलाएको भेटिएको हो । अस्पताल प्रशासनले उनीहरूको नाममा बक्यौता भेटिएको बताएको छ ।

भट्टराईको नाममा केही बक्यौता रहेको प्रशासनले जनाएको छ । अन्यको नाममा रहेको बक्यौता केही फिर्ता गरिए पनि चुक्ता हुन नसकेको इनरुवा अस्पतालले जनाएको छ । उनले बिल काउण्टर इञ्चार्जको काम गर्दै आएका छन् । लेखा फाँटले दिएको तथ्याङ्कअनुसार विकेशको नाममा १० लाख बढी रकम बक्यौता छ । उनले आफ्नो नाममा त्यत्रो रकम बाँकी नभएको दाबी गरेका छन् । श्रेष्ठले आपूmबाट गल्ती भएको स्वीकारे पनि घटनालाई सामान्य रूपमा लिए । अस्पतालको लेखाफाँटको जिम्मेवारी सम्हालेपश्चात् खर्च तथा आम्दानी केलाउँदा हिनामिना भेटिएको लेखा अधिकृत श्रवण घिमिरेले बताए । अस्पतालको आम्दानी बापतको ठूलो रकम हिनामिना हुँदा अस्पताल सञ्चालनमा समेत कठिनाइ भोग्नुपरेको उनले बताए । रकम हिनामिनाको घटनाले आफूहरू थप समस्यामा परेको अस्पताल प्रमुख (मेसु) डा. विना शाक्यले बताइन् । आम्दानी र खर्चको तालमेल नमिलेपछि कर्मचारीको गल्ती भेटिएकाले उनीहरुमाथि कारबाही अघि बढाउने उनले बताइन् । रकम हिनामिना गरेको आरोपितहरूलाई फोन सक्पर्क गर्दा सबैको फोन स्वीचअफ रहेको पाइयो ।