जिरोपोइन्ट । धरान– १४ चाखोवा मार्गमा बस्दै आएकी झुमा धमलाले आफ्नो करेसाबारीमा तीन फिट दुई इन्च लामो घिरौँला फलाएकी छन् । एउटै बोटमा अन्य घिरौँला सानासाना फलेको भएपनि दुईओटा घिरौँला निकै लामो फलेको हो । ‘दुईओटा घिरौँला लामो फलेकोमा एउटा कुहियो तर एउटा घिरौँला अझै पनि जस्ताको त्यस्तै छ ।’ घिरौँला देखाउँदै झुमाले भनिन् ।यतिका लामो घिरौँला आफूले कहिल्यै नदेखेको र सबैभन्दा लामो घिरौँला आफ्नो बारीमा फलेको दाबी गरेकी छन् । आजसम्म आफ्नो बारीमा रसायनिक मल नहालेको झुमाले बताइन् । आठओटा गाई पालिरहेकी छु । त्यही गाईको मल करेसाबारीमा प्रयोग गर्छु । उनले भनिन् । उनको प्रमुख पेशा भनेकै गाईपालन हो । आफ्नो परिवार शाकाहारी भएकाले करेसाबारीमा तरकारीको समेत खेती गर्न थालेकी हुन् । करेसाबारीमा उनले घिरौँला, भिन्डी, करेला, खुर्सानी, फलफूलहरू केरा, कटहर, कागती पनि फलाएकी छन् साथै सिजनअनुसारको फरक–फरक तरकारी लगाउने गरेको बताइन् । अहिले घरपरिवारले खाएर बचेको तरकारी हात्तीसार क्याम्पसको छात्रावासमा समेत बिक्री गर्ने गरेकी छन् । जसबाट धेरै नभए पनि महिनाको २÷३ हजार आम्दानी हुने गरेको बताउँछिन् ।
पाँच छोरी र एक छोरासँग बस्दै आएकी झुमाको पुख्र्याैली घर ओखलढुङ्गा हो तर छोरी मात्र धेरै जन्माएको भन्दै श्रीमान र घरपरिवारले नहेरेपछि उनी पाँच वर्षअघि धरान आएकी थिइन् । पाँच वर्षअघि उनी सब्जी व्यापार गर्थिन् । त्यसपछि भने उनले जग्गा भाडामा लिएर गाईपालन थालिन् । गाई पालन गरेर नै छोराछोरीलाई शिक्षा दिइरहेकी छिन् । उनकी जेठी छोरी महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्दै छिन् । दुई जना १२ कक्षामा, एक जना ११ मा र कान्छी छोरी कक्षा–६ मा पढ्छिन् । छोरा भने कक्षा–५ मा पढ्दै छन् । ‘गाई पालेर नै सबै घर खर्च चलाउने गरेकी छु, सबै सन्तानलाई शिक्षा पनि दिइरहेकी छु । सबै गाई लैनो हुँदा त महिनामा १ लाख सम्म आम्दानी हुन्छ ।’ उनी भन्छिन् । अहिलेसम्म कुनैपनि प्रकारको अनुदान नपाएकाले दुःखसमेत लाग्ने गरेको उनी बताउँछिन् । यदि अनुदान पाए अझ धेरै गाई पाल्ने उनको सोचाइ छ । गाईको मलबाटै यसरी घिरौँला फलेपछि भने झुमा झनै हौसिएकी छन् । गाईको मलबाटै अग्र्यानिक उत्पादन गर्न सकिने र आफ्नो बारीमा तरकारी र फलफूलको नर्सरी बनाउने योजनामा छिन् । ‘स्थानीय सरकारबाट अनुदान पाए सजिलै काम गर्नेथिएँ ।’ झुमा भन्छिन् ।