विराटनगर । हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद केसीले बाढीको जोखिम क्षेत्रलाई सुरक्षित बनाउन पहल गर्ने बताएका छन् । नयाँ आएका मोरङका प्रमुख जिल्ला अधिकारी केसीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विपत् व्यवस्थापनका लागि हाइअलर्टमा राखेको बताए । गत वर्षको बाढी र डुबानमा परी दुई दर्जनको मृत्यु भएको कुरा स्मरण गर्दै प्रजिअ केसीले जिल्ला प्रकोप व्यवस्थापन समितिमार्फत् विभिन्न ‘क्लस्टर हेड’ हरूलाई सक्रिय बनाइरहेको बताए । उनले पूर्वदेखि पश्चिमसम्म सामाजिक हिंसा र कुरीति बढिरहेको भन्दै त्यसको न्यूनीकरणमा जोड दिने बताए । कानूनको प्रभावकारी कार्यान्वयन र सचेतीकरण गरेर स्थानीय तहमार्फत् पहल गर्ने काम आफ्नो कार्यकालमा हुने पनि उनको भनाइ थियो । पत्रकार सम्मेलनमा १ वर्षमा जिल्ला प्रशासन कार्यालयले गरेको कार्यप्रगति विवरण पनि सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणअनुसार प्रशासनले एक वर्षमा २९ हजार ६० वटा नागरिकता वितरण गरेको छ भने ५ करोड ७२ लाख २६ हजार ३ सय ६१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा १ सय ३८ वटा विभिन्न संस्था दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ६ सय ७४ मध्ये २ सय ४१ वटा मात्रै मुद्दाको फैसला गरेको देखिएको छ । एक वर्षमा सीमा सुरक्षासम्बन्धी बैठक बस्न पनि नसकेको र बजार अनुगमन पनि न्यून देखिएको छ । सूर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी अनुगमन भने शून्य रहेको छ ।